इस्लामाबादमा आज साँझ छ बजेपछि पूर्ण लकडाउन हुनेछ ।
समाचार संस्था एएनआइका अनुसार पाकिस्तानमा पछिल्लो चौबीस घण्टामा कोरोनाका चार हजार १९८ जना सङ्क्रमित पहिचान गरिएका छन् । उक्त अवधिमा नै एक सय आठ जना सङ्क्रमितको मृत्यु भएको छ । पाकिस्तानमा कोरोना सङ्क्रमणबाट हालसम्म १८ हजार ५३७ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा ४६ हजार ४६७ जनाको परीक्षण गरिएको थियो ।
पाकिस्तानमा हाल पाँच हजार ६२४ जना सङ्क्रमित देशभरिका विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ६३१ जना भेन्टिलेटरमा छन् । पाकिस्तानको पञ्जाब, सिन्ध, खैबर पख्तुनख्वा र बलुचिस्तान कोरोनाबाट सबैभन्दा बढी प्रभाबित क्षेत्र हुन् । पछिल्लो चौबीस घण्टामा पञ्जाबमा मात्रै ६८ जना सङ्क्रमितको मृत्यु भएको छ ।
द् न्युज इन्टरनेशनललाई उद्धृत गर्दै एएनआईले इस्लामाबादमा आज साँझ छ बजेपछि सबै सार्बजनिक यातायात बन्द गरिने, सबै पार्क र ब्यावसायिक प्रतिष्ठान खोल्न रोक लगाइएको उल्लेख गरेको छ ।
पाकिस्तानमा कोरोनाभाइरसका सङ्क्रमितको सङ्ख्यामा बृद्धि भएपछि इस्लामाबादमा आजबाट लकडाउन गरिएको छ
