कोरोना भाइरसको महामारीयता विश्वमा यसको उपचार र खोपमा व्यापक अध्ययन र अनुसन्धान सुरु भएको छ । फलस्वरूप खोपमा केही सफलता हात लागेका छन् । अहिलेसम्म ५९ खोप विभिन्न चरणमा अध्ययनका क्रममा छन् ।
पछिल्लोपटक चर्चामा रहेको फाइजर खोपलाई बेलायत, अमेरिका, कुवेत र मेक्सिकोले आपत्कालीन प्रयोग र बहाराइन, क्यानडा र साउदी अरेबियाले सबैमा प्रयोग गर्न मिल्ने गरी अनुमति दिएका छन् । यो खोप तीन हप्ताको फरकमा दुई डोज सुईमार्फत छालाभित्रको मासुमा दिनुपर्छ । यो खोपको भण्डारण माइनस ७० डिग्री सेल्सियसमा गर्नुपर्छ । त्यस्तै, अर्को चर्चामा रहेको मोडर्नाको खोपलाई चार हप्ताको फरकमा दुई डोज नै लगाउनुपर्छ । यसको भण्डारण माइनस २० डिग्री सेल्सियसमा छ महिनासम्म गर्न सकिन्छ । यी दुवै खोपले कति समयसम्म काम गर्छन् भन्ने अझै अध्ययनकै विषय भए पनि धेरै देशले अग्रिम खरिद गरिसकेका छन् ।
छिमेकी मुलुक भारतले अक्सफोर्ड र अस्ट्राजिन्का भन्ने कम्पनीको ५० करोड डोज अग्रिम बुकिङ गरेको छ । नेपालमा पनि यी खोपको उपलब्धता, पहँुच र वितरणबारे बहस सुरु भएको छ । सरकारले समिति नै बनाएर काम थालेको छ । जनस्वास्थ्यमा रोकथाममा मुख्य भूमिका खेल्ने खोपको प्रभावकारिताका लागि बहुआयामिक दृष्टिकोणबाट विश्लेषण गरिनुपर्छ ।
सन् १७९६ मा बेलायतका एडवार्ड जेनरले बिफरविरुद्ध पत्ता लगाएको खोप नेपालमा सन् १८१६ देखि दिन सुरु भए पनि देशव्यापी रूपमा यसको प्रयोग धेरैपछि मात्र सुरु भयो । सन् १९६२ मा बिफरविरुद्धको खोपको अभियान काठमाडौंबाट सुरु गरेर सन् १९६७ मा देशैभरि विस्तार गरियो । फलस्वरूप नेपालमा बिफरको बिरामी सन् १९६२ यता भेटिएको छैन । विक्रम संवत् २०३४ (सन् १९७७) को नेपाली नयाँ वर्षको अवसर पारेर नेपालमा बिफर उन्मूलन भएको घोषणा गरिएको थियो ।