नेकपा विवाद : बालुवाटार छलफलमा के–के भयो ?

तत्काल पार्टी सचिवालयको बैठक बोलाउन माग गर्दै लिखित पत्र बोकेर बालुवाटार गएका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका पाँच सदस्य र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच घोचपेचपूर्ण संवाद भएको छ ।

तर, बैठक बोलाउने विषयमा ओली र असन्तुष्ट समूहबीच सहमति भने जुटेको छैन । त्यसैले नेकपाको विवादले कस्तो मोड लिन्छ भन्‍ने अनिश्चितता अझै कायम छ ।

धुम्बाराहीमा दोस्रो दिन छलफल गरेर एकैपटक बालुवाटार पुगेका कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सुरुमा ओलीलाई बैठक माग गर्दै लिखित पत्र बुझाए । र, अध्यक्ष दाहालले पृष्ठभूमि राख्दै बैठकको आवश्यकताबारे आफूनो मत राखेका थिए ।

औपचारिक बैठक बोलाए त्यहीं नै पार्टी विभाजनको विन्दु हुने ओलीको चेतावनीपछि सचिवालयका पाँच सदस्यले शुक्रबार धुम्बाराहीमा अनौपचारिक छलफल गरेका थिए । त्यसैअनुसार उनीहरुले स्थायी कमिटी निर्णय कार्यान्वयनको, कोभिड–१९ को अवस्था, राष्ट्रियताको विषय, संघीयताका मुद्दामा छलफलको माग गर्दै ओलीलाई दुई पेज लामो पत्र बुझाएका हुन् ।

प्रवक्ता श्रेष्ठले पार्टी एकता रक्षाका लागि तथा समग्र विषयमा छलफल गर्न आइतबार वा सोमबार बैठक बोलाउन लिखित आग्रह गरिएको बताए । स्थायी कमिटीको सर्वसम्मतिले निकालेको निर्णय कार्यान्वयन प्रक्रियामा समस्या उत्पन्न भएको, कार्यान्वयनको प्रक्रिया अगाडि नबढेको भन्दै सचिवालयका बहुमत सदस्यले अध्यक्ष ओलीमाथि दबाब बनाइरहेका छन् । पछिल्लो समय राष्ट्रियता र संघीय प्रणालीसम्बन्धी केही सवालमा पनि नेकपाभित्र मतभेद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *