आफूमाथि राजनीतिक र सांगठनिक दबाब हुँदा विगतमा जस्तै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आइतबार नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग लामो वार्ता गरे । ओलीले नेपालसँग सहकार्यका सम्भावित विकल्पमा समेत छलफल गरे ।
यद्यपि एक्लै भेट्दा पहिलाजस्तै गलत सूचना प्रवाह हुने भयका कारण नेता नेपाल आफूनिकट तीन नेतालाई सँगै लिएर बालुवाटार पुगेका थिए । भेटमा ओलीले पार्टी एकता बचाउन भूमिका खेल्न गरेको आग्रहमा नेपालले उल्टै प्रश्न गरे, ‘पार्टी एकता बचाउने तपाईंसँग के प्रस्ताव छ ?’ ओलीले उनलाई महाधिवेशनपछि पार्टी अध्यक्ष वा चुनावपछि प्रधानमन्त्री बनाउने आश्वासन दिए ।
पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसाग निकै नै तनाबपूर्ण सम्बन्ध देखिएको र सचिवालयका बहुमत सदस्यले लिखित रूपमै बैठक बोलाउन आग्रह गरेकै बेला प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले नेपालसँग गरेको भेट राजनीतिक सन्देश दिने एउटा रणनीतिक कदम थियो । अझ उनले नेपाललाई दिएको आश्वासन त दाहाल–नेपाल समीकरण तोड्ने राजनीतिक ‘कार्ड’ थियो ।
त्यसको अघिल्लो दिन शनिबार मात्रै कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीलाई बालुवाटारमै भेटेर बैठक आह्वानको माग गर्दै दुई पेज लामो पत्र दिएका थिए । ओलीको कार्यशैलीलाई लिएर नेता नेपालले पटक–पटक प्रश्न उठाउँदै आएका छन् ।