दिल्लीमा आठ जनामा देखियो नयाँ प्रकारको कोरोना भाइरस

भारतको राजधानी नयाँदिल्लीमा  बुधबार आठ जनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसैगरी थप ६ जनामा भने कोलकाता, बैंगलोर र पुनाको प्रयोगशालामा पुष्टि भएको बताइएको छ ।

योसँगै भारतमा नयाँ भाइरसबाट संक्रमित हुनेहरुको संख्या २० पुगेको छ । यसअघि मंगलबार मात्र भारत सरकारले ६ जनामा त्यस किसिमको कोरोना भाइरस पुष्टि भएको जनाएको थियो । संक्रमितको संख्या थप बढ्न सक्ने आंशका गरिएको छ । नयाँ प्रकारको भाइरस पुरानो भाइरसभन्दा ७० प्रतिशतले चाँडै संक्रमित तुल्याउने अनुसन्धानहरुबाट खुलेको छ । यसकारण पनि नयाँ भाइरसबाट संक्रमितको संख्या बढेसँगै महामारी थप बढ्ने हो कि भन्ने कुराले त्रास र चिन्ता बढाएको छ ।

बेलायतमा नयाँ प्रकारको भाइरस देखिएपछि २५ नोभेम्बरदेखि २३ डिसेम्बरसम्म बेलायतबाट आएका ३३ हजार यात्रुलाई निगरानीमा राखेको बताइएको छ । त्यसैगरी ती यात्रुहरुमध्ये ९ देखि २२ डिसेम्बरभित्र कोरोना लक्षण देखिएका वा पुष्टि भएकाहरुको जिनोम सिक्वेन्सिङ पनि गरिने जनाइएको छ ।

नयाँ प्रकारको भाइरसबाट संक्रमित हुने संख्यामा वृद्धि भएसँगै भारतले बेलायतसँगको हवाईसम्पर्कलाई ७ जनवरीसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यसअघि बेलायतमा नयाँ स्वरूपको कोरोना भाइरसको जीवाणु फेला परेको र त्यो जीवाणु बेलायतभर फैलिसकेको खुलेपछि भारतले बेलायतसँग हवाई उडानमाथि ३१ डिसेम्बरसम्मका लागि मात्र रोक लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *