सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर आलोचना गरेका छन् ।
शुक्रबार जनवर्गीय संगठनको कार्यालय कोटेश्वर पेरिसडाँडामा प्रदेश १ अन्तर्गतका आफू निकट जिल्ला पदाधिकारीहरुको भेलामा नेताहरुले ओलीको कार्यशैली र प्रवृत्तिलाई लिएर आलोचना गरेका हुन् । भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता नलिए थप कदम चाल्ने संकेत गरेको एक नेताले बताए ।
पार्टीले निर्णय गरिसकेकाले प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिनेमा आफूहरु ढुक्क रहेको दाहालले बताएका थिए । फिर्ता नभए त्यसको जिम्मेवार प्रधानमन्त्री ओली नै हुने दाहालको भनाइ थियो । भेलामा सहभागी केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले ओलीका गलत प्रवृत्तिहरुका बारेमा नेताहरुले खुलेरै आलोचना गरेको बताए ।
भेलामा अध्यक्ष दाहालले ओलीबाट पटक–पटक धोका पाएको गुनासो गरेका थिए । ‘उहाँले जे जे भन्नु भयो सबै मान्दै आएँ । उहाँलाई साथ र सहयोग गर्दागर्दै पनि पटक पटक धोका दिनुभयो । अपमानित गर्नुभयो,’ भेलामा दाहालले भनेका थिए, ‘केपी कमरेडले आन्दोलन, पार्टी सबैलाई कमजोर बनाउनुभयो । मलाई अन्तत: केपीजीको तरिकाले दुई अध्यक्ष मिलेर काम गर्न भन्दा पाँचजना सचिवालय सदस्यसँग मिलेर बस्न सबैभन्दा प्रिय लाग्यो ।’