कोरोनाको त्रासबीच पनि सर्वसाधरणले घरमै दसैं मनाएका छन् । अधिकांश कलाकारले सरकारले भनेझैं आफू जहाँ छन् त्यहीँ दसैं मनाए । यसपालि धेरैको दसैं परिवारभित्रै सीमित भएको देखिन्छ । कलाकार एवं निर्माता दीपकराज गिरीले यसपालि परिवारका पाँच सदस्यसँग दसैं मनाएका छन् । फेसबुकमा उनले लेखेका छन्,’आशीर्वाद २०७७ ! ४० जनाको परिवार यो पल्ट परिस्थितिले ५ जनाको बनायो । संख्या कम भयो होला आशीर्वाद कम भएन ।’
छोरा अनमोल केसीलाई टिका लगाइदिएको तस्बिर राख्दै भुवन केसीले लेखेका छन्,’मेरो सम्पूर्ण परिवारलाई विजया दशमीको शुभकामना । सुरक्षित दसैं मनाऔं ।’ तस्बिरमा छोरा अनमोल र भुवनले मास्क लगाएका छन् ।
दसैंमा सधै स्टेज कार्यक्रममा व्यस्त रहने गायक प्रमोद खरेलले पनि ६ वर्षपछि बुबाको हातबाट टिका लगाउन पाएको खुशी फेसबुकमा सेयर गरेका छन् । पिताको हातबाट टिका थाप्दै गरेको तस्बिर सार्वजनिक गर्दै उनले लेखेका छन्,’६ वर्षपछि पिताजीको हातबाट टिका लाउन जुर्यो । माताजीको माताको वार्षिकी नसकिएकोले यो वर्ष पनि जुरेन । सबैलाइ दसैंकाे शुभकामना ।’