डब्लुएचओ ले किसिमका रोगहरुको उत्पत्ति रोक्न खाद्य बजारमा जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न मङ्गलबार आग्रह गरेको छ ।

डब्लुएचओले ठूलो जनसंख्यालाई खाद्य तथा जीविकोपार्जन जुटाउन परम्परागत बजारले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको भए पनि जीवित जङ्गली जीवजन्तुको बेचबिखन रोक्न सकिए बजारमा काम गर्ने कामदार र ग्राहकको स्वास्थ्य सुरक्षित तुल्याउन सघाउने बताएको छ ।
चीनको उहानमा भेटिएका कोभिड–१९ संक्रमितहरुको सम्बन्ध स्थानीय परम्परागत खाद्य बजारसँग देखिएको भन्दै डब्लुएचओले शुरुआती दिनमा भेटिएका सङ्क्रमितहरु खाद्य स्टलका मालिकहरु, बजारका कामदारहरु वा बजारमा नियमित आउजाउ गर्नेहरु नै रहेको जनाएको छ ।
यो अन्तरिम निर्देशिका विश्व जीव स्वास्थ्य संगठन (ओआइइ) र राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) को सहकार्यमा निर्माण गरिएको हो ।
डब्लुएचओले जीवित जङ्गली स्तनधारी जीवजन्तुहरु खाद्य बजारमा ल्याएर बेचबिखन गर्नु वा राख्नु निकै हानिकारक हुने जनाएको छ । जीवित स्तनपायी जनावरलाई खाद्य बजारहरु खासगरी माछामासुको किनबेच हुने बजारमा नराख्न सदस्य मुलुकलाई आग्रह गरिएको डब्लुएचओले बताएको छ ।
डब्लुएचओले भनेको छ, “जनावरहरु, खासगरी जङ्गली जनावरहरु, ले मानिसमा देखा पर्ने नयाँ सङ्क्रामक रोगहरु ल्याउन ७० प्रतिशतभन्दा बढी भूमिका खेल्ने गरेका छन् । जङ्गली जनावरहरु नयाँ किसिमका रोगहरुका मुख्य स्रोत नै हुन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *