ठेकेदार सम्पर्कविहीन हुँदा ६५ किमि प्रसारण लाइन विस्तारको काम अलपत्र

कर्णालीका हिमाली जिल्लामा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न सरकारले प्रक्रिया अघि बढाए पनि ठेकेदार सम्पर्कविहीन हुँदा काममा ढिलाइ भएको छ ।

ठेक्का अवधि सकिएको १५ महिना बित्दासमेत दैलेखको दुल्लुदेखि कालीकोटको मान्मसम्मको ६५ किमि प्रसारण लाइनको काम पूरा हुन नसकेको हो ।

त्रिपुरेश्वर/नवदुर्गा जेभीले ३ वर्षभित्रै लाइन विस्तार सक्ने गरी आर्थिक वर्ष ०७३/७४ मा ठेक्का सम्झौता गरेको थियो । कम्पनीसँगको म्याद ०७६ साउनमै सकिएको विद्युत् प्राधिकरणले जनाएको छ । दैलेखबाट कालीकोटसम्म पोल गाड्ने काम सकिए पनि लाइन विस्तार अझै हुन नसकेको विद्युत् प्राधिकरण, प्रदेश कार्यालय सुर्खेतका निर्देशक सुरेन्द्रप्रसाद अग्रहरीले बताए । ‘ठेकेदार लामो समयदेखि सम्पर्कविहीन छन्,’ उनले भने, ‘अहिलेसम्म दुल्लुबाट कालीकोटसम्म पोल गाड्ने काम मात्र सकिएको छ ।’

कर्णालीका कालीकोट, मुगु र जुम्लालाई राष्ट्रिय प्रसारणसँग जोड्ने गरी कम्पनीले करिब १३ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । अहिलेसम्म दैलेखको रामाघाटदेखि राकमसम्म १२ किलोमिटरमा मात्र लाइन तानिएको छ । गाडिएका पोल पनि ढल्न थालेको स्थानीयको गुनासो छ । प्रसारण लाइनको जिम्मा लिएका ठेकेदार राकेश अग्रवालसँग विद्युत् प्राधिकरणका मात्रै ७८ वटा ठेक्का छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *