ट्रम्पले फर्काए फेसबुकलाई यस्तो जवाफ, २०२४ मा पनि चुनाव लड्ने

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२४ को राष्ट्रपतीय निर्वाचनमा पनि आफू उम्मेदवार बन्ने संकेत दिएका छन् । शुक्रबार फेसबुकले दुई वर्षका लागि ट्रम्पको एकाउन्ट प्रतिबन्धित रहने  निर्णय गरेको थियो । यसको जवाफमा ट्रम्पले आफू राष्ट्रपति चुनिएपछि फेसबुकका सञ्चालक मार्कजुकेरवर्ग डिनरमा नबोलाउने बताए । ट्रम्पले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अर्कोपटक म ह्वाइटाउसमा आएपछि उनको आग्रहमा मार्क जुकेरवर्ग र उनकी श्रीमतीसँग थप डिनर हुनेछैन ।’ आफ्नो विपक्षीहरुलाई मजाक गर्ने तथा आधारहीन तर्कहरु अघि सारेर झुठ बोल्ने गरेको लामो इतिहास ट्रम्पसँग छ ।

शुक्रबारमात्रै फेसबकुका वैश्विक मामिला सम्बन्धी उपाध्यक्ष निक क्लेगले ट्रम्पमाथि २०२३ सम्मका लागि प्रतिबन्ध लागेको घोषणा गरेका थिए । क्लब बेलायतका पूर्व उपप्रधानमन्त्री समेत हुन् । गत जनवरीदेखि नै ट्रम्प फेसबुकमा निलम्बनमा थिए ।

निर्वाचनमा धाँधली भएको भन्दै ट्रम्प समर्थकहरुले अमेरिकी संसद् भवनमा आक्रमण गरेपछि फेसबुकले यस्तो निलम्बन घोषणा गरेको थियो । निलम्बनपछि पहिलोपटक बयान दिँदै ट्रम्पले फेसबुकको निर्णय आफ्ना मतदाताहरुप्रतिको अपमान रहेको बताएका थिए ।

ट्रम्पले २०२० को निर्वाचन धाँधलीपूर्ण भएको अभिव्यक्त दिँदै आएका छन् । उनले लामो समयसम्म जो बाइडेनको विजयलाई स्विकार पनि गरेका थिएनन् । अन्तत बाइडेनले राष्ट्रपतिको सपथ लिनुअघि ह्वाइट हाउस छाडेपनि निर्वाचनमा धाँधली भएको आफ्नो अडानबाट भने ट्रम्प पछि हटेका छैनन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *