ट्रम्पले खोले फ्लोरिडामा पूर्वराष्ट्रपतिको कार्यालय

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा पूर्वराष्ट्रपतिको कार्यालय स्थापना गरेका छन् ।

फ्लोरिडाको पाल्म बिचमा मंगलबार उनले कार्यालय स्थापना गरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ‘कार्यालयबाट ट्रम्पले पूर्वराष्ट्रपतिको रूपमा गर्ने सार्वजनिक भूमिका र गतिविधिहरू सञ्चालन हुने’ उनका सहयोगीहरूले जनाएका छन् ।

कार्यालयबाट पत्र तथा वक्तव्यहरू आदानप्रदान गर्ने, बैठक तथा भेटवार्ता गर्ने, औपचारिक सम्पर्क गर्नेलगायत कार्य हुने पनि ट्रम्पका सहयोगीहरूको भनाइ छ । त्यसैगरी, ट्रम्प कार्यकालमा भए/गरेका कार्यहरूको समीक्षा तथा निरन्तर चासो राख्ने र त्यसलाई थप संस्थागत गर्ने कार्यमा पनि कार्यालयबाट गतिविधिहरू सञ्चालन हुने जनाइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले गरेका कार्यप्रति टिप्पणी गर्ने र त्यसविरुद्ध जनमत जुटाउने रणनीतिसमेत कार्यालयले अपनाउने अनुमान गरिएको छ । ‘राष्ट्रपति ट्रम्प सधैं अमेरिकी जनताको राष्ट्रपति हुनुहुन्छ, सबैले उहाँलाई आफ्नो अभिभावक मानेका छन्,’ उनको नयाँ कार्यालयबाट जारी वक्तव्यमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *