ट्रम्पका निकट नेताले मौनता तोड्दै बाइडनलाई दिए बधाई

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको रिपब्लिकन पार्टीका एक उच्च नेता सिनेट मेजरिटी लिडर मिच मक्कोनेलले गत महिना भएको राष्ट्रपति निर्वाचनमा विजयी बनेका जो बाइडनलाई बधाई दिएका छन्।

इलेक्टोरल कलेजहरूको मतदानले ट्रम्पविरुद्ध बाइडनको जित पुष्टि गरेको एक दिनपछि सिनेटर मक्कोनेलले उनलाई बधाई दिएका हुन्।

अहिले रिपब्लिकनहरूको नियन्त्रणमा रहेको सिनेटसँगको सम्बन्ध बाइडनको कार्यकालका लागि निकै महत्त्वपूर्ण हुनेछ।आउँदो महिना सिनेटका लागि हुने चुनावी अभियानका लागि बाइडनले जोर्जिआ राज्यको भ्रमण गरेका छन्।

आउँदो ज्यानुअरी ५ मा सिनेटका दुई सदस्यबारे निर्णय हुनेछ र त्यसैले उनको पार्टीले सदनमा आफ्नो नियन्त्रण कायम गर्छ कि गर्दैन भन्ने तय हुनेछ।

हाउस अफ रिप्रिजेन्टेटिभ्समा डेमोक्र्याटहरूकै नियन्त्रण रहेको छ।सोमवार बाइडनको जितको आधिकारिक पुष्टि भएपछि विश्वका तीन नेताले पनि बाइडनलाई बधाई दिएका छन्।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारु र मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज ओब्राडोरले राष्ट्रपति निर्वाचित भएपछि बधाई दिन अनकनाएको भन्दै व्यापक टिप्पणीहरू भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *