जापानमा कोभिड-१९ विरुद्धको खोप अभियान सुरु

जापानले कोरोना भाइरसविरुद्धको खोप अभियान बुधबारदेखि सुरु गरेको छ । जापानी स्वास्थ्य अधिकारीहरुका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिइने छ ।

जापानले हालसम्म फाइजर कम्पनीको खोप मात्र स्वीकृत गरेको छ । बुधबार बिहान टोकियो अस्पतालमा पहिलो खोप दिएर खोप अभियान सुरु भएको हो ।

टोकियो मेडिकल सेन्टरका निर्देशक काजुहिरो आराकी जापानमा खोप लगाउने पहिलो व्यक्ति भएका छन् । खोप लगाएपछि पत्रकारहरुसँग कुरा गर्दै निर्देशक काजुहिरोले कोरोना भाइरस नियन्त्रणमा ल्याउने सबैभन्दा प्रभावकारी विधि खोप हो भन्ने ठानेर आफूले खोप लिएको बताए । उनले भने, ‘खोप लगाउँदा त्यति दुखेको अनुभूति भएन । मलाई ठीकै लाग्यो ।’

जापानले पहिलो चरणमा देशभरका ४० हजार स्वास्थ्यकर्मीलाई खोप दिने तयारी गरेको छ । तीमध्ये २० हजार व्यक्तिमा दुई डोज खोप लगाइसकेपछि उनीहरुमा खोपको प्रभावकारिता अध्ययन गरिने जापानी स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *