जमाल खसोग्जी: ‘पक्राउ र हत्या गर्ने योजनालाई साउदी युवराजको स्वीकृति’

अमेरिकी गुप्तचर निकायको रिपोर्टले साउदी युवराज मोहम्मद बिन सलमानले निर्वासनमा रहेका पत्रकार जमाल खसोग्जीको सन् २०१८ मा भएको हत्याको स्वीकृति दिएको पाएको छ।

बाइडन प्रशासनले सार्वजनिक गरेको रिपोर्टमा युवराजले खसोग्जीलाई “पक्राउ गर्न अथवा हत्या गर्ने” योजनालाई स्वीकृति दिएका थिए।

अमेरिकाले दर्जनौँ साउदीहरूमाथि प्रतिबन्ध लगाएको छ तर युवराजलाई भने लगाएको छैन।

साउदी अरेबियाले उक्त रिपोर्टलाई अस्वीकार गर्दै त्यसलाई “नकारात्मक, झुटो र अस्वीकार्य” बताएको छ।

साउदीमा प्रमुख नेतृत्वदायी भूमिकामा रहेका युवराज मोहम्मदले खसोग्जी हत्यामा उनको कुनै पनि भूमिका रहेको भन्ने अस्वीकार गरेका छन्।

खसोग्जी इस्तानबुलमा रहेको कन्सुलेट भ्रमण गर्दा टर्कीमा मारिएका थिए र उनको शरीर टुक्रा टुक्रा पारिएको थियो।

५९ वर्षीय पत्रकार खसोग्जी कुनैबेला साउदी सरकारका सल्लाहकार थिए र राज परिवारसँग निकट थिए। तर पछि उनी टाढिए र स्व-निर्वासनमा सन् २०१७ मा अमेरिका पुगेका थिए।

त्यहीँ उनले वाशिङ्टन पोष्टका लागि मासिक स्तम्भ लेख्थे जसमा उनले युवराज मोहम्मदको नीतिहरूको आलोचना गर्ने गर्थे।

अमेरिकी गुप्तचर निकायको निर्देशकको कार्यालयले तयार पारेको रिपोर्टमा भनिएको छ, “साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले इस्तानबुलमा साउदी पत्रकारलाई पक्राउ गर्न या हत्या गर्ने योजना अनुमोदन गरेका थिए भन्ने हाम्रो ठम्याइ छ।”

युवराज साउदी राजा सलमान बिन अब्दुलअजिज अल साउदका छोरा हुन् र उनलाई देशको प्रभावशाली शासकका रूपमा लिइन्छ।

गुप्तचर रिपोर्टले उक्त कारबाही साउदी युवराजले गराएका थिए भन्ने निष्कर्षमा पुग्न तीनवटा कारण देखाएको छ।

रिपोर्टमा खसोग्जीको हत्यामा संलग्न भनेर आरोपितहरूको नाम पनि उल्लेख गरिएको छ।

तर रिपोर्टमा भनिएको छ, “उनीहरू कहिलेदेखि त्यसमा संलग्न थिए भन्ने चाहिँ हामीलाई थाहा छैन।”

साउदी अधिकारीहरूले ती पत्रकारलाई देशमा फर्काउन पठाइएको समूहले गरेको गलत कारबाहीका कारण मारिएको आरोप लगाउँछन् र गत सेप्टेम्बर महिनामा साउदी अदालतले पाँचजनालाई पहिले फासी तर पछि बीस वर्षको जेल सजाय सुनाएको थियो।

सन् २०१९ मा संयुक्त राष्ट्र संघीय विशेष दूत एगनेस कालामार्डले साउदी राज्यलाई खसोग्जीको हत्या गराएको भन्दै न्यायालयको दुरुपयोग गरेको आरोप लगाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *