चीनबाट भएको सीमा अतिक्रमणलाई ढाकछोप गर्न खोज्‍नु राष्ट्रघात : कांग्रेस

हुम्लामा चिनियाँ पक्षबाट भएको सीमा अतिक्रमणलाई सरकारले ढाकछोप गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले आपत्ति जनाएको छ । 

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गर्दै सीमा अतिक्रमणको प्रमाण सार्वजनिक भइसक्दा पनि सरकार मौन बसेर त्यसलाई ढाकछोप गर्न प्रयत्नशील रहेको आरोप लगाएका छन् ।

कुनै पनि छिमेकी मुलुकबाट हुने सीमा अतिक्रमण कांग्रेसलाई अस्वीकार्य हुने बताउँदै सरकारले ढाकछोप गर्न खोज्नु राष्ट्रघात भएको शर्माको टिप्पणी छ । ‘सीमा अतिक्रमण उत्तरी मित्रराष्ट्रबाट होस् या दक्षिणीबाट, हामीलाई दुवै अस्वीकार्य छ । हुम्लाको सीमामा चीनले गरेको अतिक्रमण एक सार्वभौम राष्ट्र नेपालका लागि गम्भीर आपत्तिको विषय हो । झनै आपत्ति, आश्चर्य र निन्दनीय विषय त नेपाल सरकारले गर्न खोजेको ढाकछोप र मौनता साथको राष्ट्रघात छ ।’

कांग्रेसले सीमा अतिक्रमणबारे तत्काल धारणा सार्वजनिक गर्न, चीन सरकारसमक्ष ‘प्रोटेस्ट नोट’ पठाउन र कूटनैतिक संवादमार्फत हल खोज्ने प्रक्रिया अविलम्ब सुरु गर्न सरकारसँग माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *