कोरोना संक्रमणमा भारत दोस्रो स्थानमा

 कोरोना संक्रमणका हिसाबले भारत विश्वकै दोस्रो स्थानमा उक्लिएको छ ।  भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ८ सय २ जनामा संक्रमण पुष्टि भएसँगै भारतले ब्राजिललाई उछिनेको हो ।जुन एकैदिन संक्रमण देखिएको हालसम्मकै ठूलो संख्या हो । यसअघि भारतमा शनिबार ९० हजार ६ सय ३३ जनामा संक्रमण पुष्टि भएको थियो ।योसँगै भारतमा कुल संक्रमितको संख्या ४२ लाख नाघेको छ । आइतबार साँझसम्म संक्रमितको संख्या ४२ लाख ४ हजार ६ सय १४ पुगेको छ । त्यसैगरी गएको २४ घण्टामा १ हजार १६ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । भारतमा हालसम्म भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७१ हजार ६ सय ४२ पुगेको छ ।

भारतले उछिनेपछि तेस्रो स्थानमा रहेको ब्राजिलमा सोमबार बिहानसम्म संक्रमितको संख्या ४१ लाख ३७ हजार ५ सय २२ रहेको छ । त्यस्तै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या करिब एक लाख २७ हजार रहेको छ भने संक्रमण पुष्टि भएकामध्ये करिब ३५ लाख निको भएका छन् ।

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा सोमबार बिहानसम्म संक्रमितको संख्या ६२ लाख ७५ हजारभन्दा बढी पुगेको छ । अमेरिकामा कोरोनाबाट करिब एक लाख ८९ हजारको मृत्यु भएको छ भने २३ लाखभन्दा बढी निको भएका छन् ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *