कोरोना भाइरस भारतः सङ्क्रमितको कुल सङ्ख्या १० लाख नाघ्यो, तर मृत्युदर कम

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमण भएका व्यक्तिको कुल सङ्ख्या १० लाख नाघेको छ।

विश्वभरि कोरोनाभाइरस महामारीबाट प्रभावित देशहरूको सूचीमा भारत अमेरिका र ब्रजिलपछि तेस्रो स्थानमा छ।

भारतको स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयले शुक्रवार बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा देशभरि थप ३४,९५६ जनामा सङ्क्रमण पुष्ट भएपछि सङ्क्रमितको कुल सङ्ख्या १०,०३,८३२ पुगेको हो।

सरकारी तथ्याङ्कले अहिलेसम्म भारतमा २५,००० भन्दा बढी मानिसको मृत्यु भएको र ६,००,००० जना निको भएको देखाउँछ।यो Twitter पोस्ट छोड्नुहोस्, 1

Twitter पोस्ट समाप्त, 1

भारतीय राज्यहरूमध्ये महाराष्ट्र र तामिलाडु अतिप्रभावित छन्। राजधानी दिल्ली त्यसपछि तेस्रो स्थानमा आउँछ।

महाराष्ट्रमा अहिलेसम्म २,८४,००० जनाभन्दा बढी सङ्क्रमित भेटिएका छन् भने झन्डै ११,२०० जनाको मृत्यु भएको छ।

लकडाउन खुकुलो पारिएपछि ह्वात्तै बढ्यो

कोभिड-१९ नियन्त्रण गर्ने उद्देश्यले भारतमा मार्च महिनामा लकडाउन घोषणा गरिएको थियो। त्यति बेला सङ्क्रमितको सङ्ख्या केवल ५०० जति थियो।

भारत

तर जुन ८ देखि हिँडडुल र व्यापार-व्यवसायमा लगाइएका प्रतिबन्धहरू बिस्तारै खुकुलो पार्न थालिएपछि सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्न थालेको छ।

ठूलो जनसङ्ख्या र जनघनत्व भएका ठूला सहरहरू पनि धेरै भएकाले भारत कोभिड-१९ को केन्द्रबिन्दु बन्न सक्ने खतरा भएको विज्ञहरू बताउँछन्।

भारतमा ज्यानुअरी महिनामा पहिलो सङ्क्रमित फेला परेका थिए।

त्यसपछि १७० दिनमा १० लाख व्यक्ति सङ्क्रमित भइसकेका छन्।

भारतमा कोभिड-१९ पुष्टि हुने क्रम रोकिएको छैन. .  .

विभिन्न राज्यहरूमा परीक्षणको सुविधा विस्तार गरिएपछि सङ्क्रमण पुष्टि हुने क्रम पनि बढेको छ।

तर त्यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या झन्डै ३,४०,००० मात्रै छ।

अरू अतिप्रभावित देशहरूको तथ्याङ्कसँग तुलना गर्न त्यो सङ्ख्या कम हो। त्यहाँ कोभिड-१९ सँग सम्बन्धित मृत्युदर पनि कम छ।

नेपालसँग जोडिएका राज्यको स्थिति

नेपालसँग सीमा जोडिएका राज्यमध्ये उत्तर प्रदेशमा ४३,०००, पश्चिम बङ्गालमा ३६,००० र बिहारमा २१,००० भन्दा बढी मानिसमा सङ्क्रमण देखिएको छ।

उत्तराखण्डमा भने सङ्क्रमितको सङ्ख्या न्यून छ।

उत्तर प्रदेश र पश्चिम बङ्गालमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या १,००० भन्दा बढी छ भने बिहारमा २०० जति छ।

नेपालमा फेला परेका अधिकांश सङ्क्रमित भारतबाट नेपाल आएका व्यक्ति भएको सरकारको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *