कोरोना भाइरस खोप: भारतद्वारा कोभिशील्ड निकासीमा रोक, अरू विकल्प नेपाललाई किन असहज

नेपालले किनेको कोभिड खोप उपलब्ध गराउन केही सातादेखि सीरम इन्स्टिट्यूट अफ इन्डियाले आनाकानी गरिरहेको थियो।

प्रतिडोज चार डलरमा किनिएको २० लाख मात्रामध्ये आधा पठाइसकेको कम्पनीले नेपाल सरकारलाई कोभिशील्ड खोपको बाँकी १० लाख मात्रा आपूर्ति गर्न बाँकी नै छ।

तर भारत सरकारले नै अकस्मात् कोभिशील्डको निकासीमा अस्थायी रोक लगाउने भनेपछि नेपालको अन्योल झनै बढ्ने देखिन्छ।

यसबाट कोरोनाभाइरसविरुद्ध सुरु गरिएको खोप अभियान प्रभावित हुने देखिएको छ।

नेपालले हालसम्म भारत सरकारबाट अनुदानमा पाएको १० लाख मात्राको खोप, कोभ्याक्स सुविधाअन्तर्गत पाएको झन्डै साढे तीन लाख मात्रा अनि खरिद गरेकोमध्ये प्राप्त १० लाख मात्रा पाइसकेको छ।

प्रारम्भिक चरणमा स्वास्थ्य तथा सफाइ कर्मचारीसहित अग्रपङ्क्तिका अनि त्यसपछि ६५ वर्षमाथिका उमेर समूहका मानिसहरू गरी हालसम्म करिब १७ लाख मात्रा वितरण भइसकेको छ।

“अब हामीसँग प्रारम्भिक चरणमा पहिलो मात्रा लगाएकाहरूलाई दोस्रो मात्रा दिन त खोप पुग्छ। तर आउनुपर्ने खोप आएन भने बाँकी वितरणमा अप्ठेरो पर्छ नै,” कोभिड खोप विज्ञ सल्लाहकार समितिका संयोजक श्यामराज उप्रेतीले बीबीसीलाई बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *