ग्रीस र अस्ट्रियाले युरोपेली सङ्घ (ईयू) का अन्य सदस्य राष्ट्रलाई कोरोनाभाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात् ‘खोप राहदानी’ स्विकार्न आह्वान गरेका छन्।
त्यसले महामारीका कारण जर्जर बनेको युरोपको पर्यटन उद्योग उकासिने उनीहरूको तर्क छ।
ती देशहरूले युरोप यात्रा गर्नका लागि एउटा प्रमाणपत्र जस्तै खोप लगाएको प्रमाणित हुने कागजलाई अनुमति दिन प्रस्ताव राखेका हुन्।
उनीहरूका प्रस्तावमा खोप लगाइसकेकाले त्यसको प्रमाण देखाएका आधारमा युरोपभरि विना रोकतोक घुम्न पाउनेछन्।
ईयू नेताहरूबीच भएको एउटा भर्चुअल छलफलमा उक्त प्रस्ताव प्रस्तुत गरिएको थियो।
तर ‘भ्याक्सिन पासपोर्ट’लाई उक्त सङ्गठनका केही देशहरूको विरोधको सामना गर्नुपर्यो।
अविश्वास
फ्रान्स र जर्मनीले त्यस्तो प्रमाणपत्र अहिलेका लागि अपरिपक्व हुने बताएका छन्।
उनीहरूका तर्कमा खोप लगाएको व्यक्तिले भाइरस लिएर हिँड्न सक्ने तथा उसले अरूलाई भाइरस सार्न सक्ने वा नसक्नेबारे आएका विवरणहरू पूर्ण छैनन्।
त्यस्तै कतिपयले त्यस्तो राहदानीले सीमित व्यक्तिलाई मात्र विदेश यात्रा गर्न दिने भएकाले भेदभावपूर्ण हुने बताएका छन्।