कोरोना भाइरस: किन केही देश कोभिड-१९ विरूद्ध जुझ्न अरूभन्दा सफल भइरहेका छन्

सन् २०१९ मा एउटा विश्वव्यापी मापनले संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यलाई महामारीको पूर्वतयारीमा उदाहरणीय देखायो। त्यसमा न्यूजील्याण्ड, चीन र भियतनाम निक्कै पछि परेका थिए।

तर २०२१ सम्म आइपुग्दा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको ग्लोबल हेल्थ सेक्युरिटि इन्डेक्समा केही गम्भीर त्रुटि रहेको प्रष्ट भइसकेको छ।

अमेरिका र संयुक्त अधिराज्यमा महामारी नियन्त्रण बाहिर रहेको भनिएको छ।

तर महामारी नियन्त्रणका लागि चीनले चालेका कठोर कदमहरूको विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले प्रशंसा गरेको छ। न्यूजील्याण्डलाई उदाहरणीय भनेर तारिफ गरिएको छ भने ९ करोड ५० लाख जनसङ्ख्या रहेपनि भियतनाममा अहिलेसम्म ३५ जनाको कोभिड-१९ का कारण मृत्यु भएको छ।

सर्सर्ती हेर्दा कागजमा राम्रो देखिएका केही देशहरू महामारीसँग जुझ्न असफल भएका छन् भने पर्याप्त तयारी नभएका भनिएका देशहरूले कोभिड-१९ विरूद्ध राम्रोसँग लडेका छन्।

अमेरिकाको मिसिगन विश्वविद्यालयकी विश्व स्वास्थ्य सम्बन्धी विज्ञ एलिजावेथ किङ प्रश्न गर्छिन्, “सबै जना एउटै भाइरससँग जुझिरहेका छन् तर किन देशहरूले फरक ढङ्गले प्रतिक्रिया जनाइरहेका छन्?”

सन् २०२० मा कोरोनाभाइरसको पहिलो सङ्क्रमणको लहरबारेको पुस्तक उनले सम्पादन गरिरहेकी छन्। त्यसमा एसिया, युरोप, अमेरिका र अफ्रिकाका ३० देशका ६० प्राज्ञका लेखहरू समेटिएका छन्।

अन्तर्राष्ट्रिय रूपमा तुलना गर्नु ठूलो चुनौती हुनसक्छ किनभने देशहरूले आफ्नो परिणाम नाप्न अलग अलग मापदण्ड बनाएका छन्।

उदाहरणका लागि बेल्जियमले शङ्कास्पद मृतकलाई कोभिड-१९ का कारण मृत्यु भएको सूचिमा राखेको छ जसका कारण त्यहाँ ज्यान गुमाउनेको सङ्ख्या अन्यत्र भन्दा बढी देखिन्छ।

जर्मनी र फ्रान्सले स्याहार केन्द्रहरूमा भएका मृत्युलाई आफ्नो सङ्ख्यामा समेटेको छ भने संयुक्त अधिराज्यको मूल जोड अस्पतालको सङ्ख्याहरूमा छ।

सङ्ख्याको तुलना गर्नु अझ बढी जटिल छ। तपाईँले बढी परीक्षण गर्नु भयो भने बढी सङ्क्रमणका घटना फेला पार्नु हुनेछ।

महामारीको समयमा परीक्षणको दर र कसको परीक्षण गर्ने भन्नेबारे अलग अलग खालका मापदण्ड अपनाइएका थिए।

देशभित्रको जनसङ्ख्याको समिश्रणलाई पनि केलाउनुपर्ने हुन्छ।

इट्लीमा देशको जनसङ्ख्याको पाँचमध्ये एकभन्दा बढी ६५ वर्षको उमेरभन्दा बढीका थिए जसका कारण त्यहाँ जोखिम बढी थियो।

अफ्रिकामा कैयौँ गुणा बढी युवा जनसङ्ख्या छ र उक्त महादेशका १९ देश विश्वमा बढी युवा जनसङ्ख्या भएका २० वटा देशमा पर्छन्।

तर पनि महामारीको पहिलो लहरको समयमा सरकारहरूले कति द्रुत गतिमा काम गरे भन्ने कुराले देशभित्रका परिणामलाई उल्लेख्य रूपमा असर पारेको जस्तो देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *