कोरोनाविरुद्ध मोडर्नाले बनाइरहेको खोप ‘९५ प्रतिशत प्रभावकारी

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसविरुद्ध खोप निर्माणमा अर्को सफलता प्राप्त भएको दाबी गरिएको छ । कोरोनाविरुद्ध अमेरिकी कम्पनी मोडर्नाले बनाइरहेको खोप प्रभावकारी देखिएको दाबी गरिएको हो ।

सोमबार कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्ध आफूले विकास गरिरहेको खोप ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरेको हो । केही दिनअघि फाइजर र बायो एनटेकले संयुक्त रुपमा विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशत प्रभावकारी देखिएको बताइएको थियो ।

अमेरिकी बायोटेक कम्पनी मोडर्नाले कोरोनाविरुद्धको तेस्रो चरणको चिकित्सकीय परीक्षणका उक्त खोप ९४.५ प्रतिशत प्रभावकारी देखिएको बताएको हो । मोडर्नाको परीक्षणमा ३० हजार स्वयंसेवी सहभागी भएको बताइएको छ । तीमध्ये आधालाई २८ दिनका अन्तरमा खोपको २ डोज दिइएको थियो भने आधालाई उति नै समयावधिमा प्लेसिबोको दुई सट दिइएको थियो ।

‘तेस्रो चरणको परीक्षणअन्तर्गतको अन्तरिम विश्लेषणले हाम्रो खोपले गम्भीर प्रकृतिका रोगसहितका कोरोना बिरामीलाई निको बनाउन सक्छ भन्ने देखिएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मोर्डनाले पनि फाइजर र बायो एनटेकले प्रयोग गरेकै विधि अपनाई कोरोनाविरुद्धको खोप बनाइरहेको छ । यो खोप मोलिक्युलमा आधारित छ, जसलाई ‘एमआरएनए’ वा ‘मेसेन्जर आरएनए’ का नामले चिनिन्छ ।

उक्त मोलिक्युलले शरीरको कोशिकाभित्र प्रोटिनको विकासमा सहयोग पुर्याउने अनुसन्धानकर्मीहरुले बताएका छन् । यो प्रविधिमा आधारित खोपले कुनै साइड इफेक्टबिना एन्टिबडीको विकास गरी भाइरसलाई परास्त गर्ने दाबी पनि गरिएको छ । त्यसैले ‘एमआरएनए’ प्रविधिमा आधारित कोरोनाविरुद्धका २ खोपको परीक्षण प्रभावकारी देखिनु चिकित्सा क्षेत्रका लागि खुसीको खबर भएको वैज्ञानिकहरु बताउँछन् ।

मोडर्नाले विकास गरिरहेको खोपको सुरक्षित भण्डारण पनि फाइजरको भन्दा फरक रहेको छ । मोडर्नाले आफूले विकास गरिरहेको खोप माइनस ४ डिग्री सेल्सियसको तापक्रममै सुरक्षित रुपमा भण्डार गर्न सकिने दाबी गरेको छ । जुन घरमा राखिने फ्रिजमा पनि सम्भव देखिन्छ । तर फाइजरले बनाइरहेको खोप भने माइनस ७० डिग्री सेल्सियसको तापक्रममा भण्डारण गर्नुपर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *