कोभिड-१९ को दोस्रो लहरले एप्रिल र मे महिनामा ल्याएको प्रकोपपछि भारत बिस्तारै खुला हुन थालेको छ।

भारतमा गत वर्ष पहिलो पटक भेटिएको डेल्टा भेरिअन्ट अहिलेको घातक दोस्रो लहरका लागि जिम्मेवार मानिन्छ। तर नयाँ लहरको चिन्ता कत्तिको जायज हो? प्रकोपको लहरहरू आउनु स्वाभाविक भए पनि त्यसको खतरा र फैलावट भने धेरै कारणमा आधारित हुन्छ। अहिले भारतमा दैनिक सङ्क्रमण सङ्ख्या ५०,००० को हाराहारीमा छ। गत मेमा यो दैनिक चार लाखको हाराहारीमा पुगेको थियो। सङ्क्रमण कम हुनुको कारक राज्य सरकारले लगाएको कडा निषेधाज्ञालाई मानिएको छ। दोस्रो लहरका लागि बजारको भिड, चुनावी प्रदर्शनहरू र धार्मिक आयोजनहरूलाई जिम्मेवार मानिएको थियो।

अन्य कारणहरूमा गलत नीतिगत निर्णयहरू, कमजोर निरीक्षण र खतराका सङ्केतहरूलाई गरिएको बेवास्ता मानिएका थिए।

यदि यस्तै गल्तीहरू दोहोरिए तेस्रो लहर छिट्टै आउने विज्ञहरू बताउँछन्। सार्वजनिक नीति तथा स्वास्थ्य प्रणाली विज्ञ डा. चन्द्रकान्त लहरिया भारत अहिले जोखिमपूर्ण स्थितिमा रहेको र अगामी लहर कस्तो हुन्छ भन्ने मानिसहरूको व्यवहारमा भर पर्ने बताउँछन्।

भारतको दोस्रो लहरका लागि डेल्टा भेरिअन्ट प्रमुख जिम्मेवार थियो। विज्ञहरू जोखिममा रहेका जनसङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण भइरहने हो भने थप यस्ता भेरिअन्टहरू देखिने बताउँछन्। भारतीय सरकारले डेल्टा प्लसलाई “चिन्ताको भेरिअन्ट” भनेर वर्गीकरण गरेको छ। तर अहिलेसम्म यसले तेस्रो लहर ल्याउँछ भनेर भन्न यथेष्ट तथ्याङ्क छैन।

तर विज्ञहरू यो अवस्था केही सातामै फेरिन सक्ने दाबी गर्छन्।

सङ्क्रामक रोग विशेषज्ञ डा. ललित कान्त भाइरस फैलिन जारी रहेसम्म नयाँ भेरिअन्टले अहिले प्राप्त उपलब्धिलाई भताभुङ्ग पार्न सक्ने अवस्था रहन्छ।

“हामीले सिक्वेन्सिङ्लाई व्यापक बनाएर नयाँ भेरिअन्टलाई समयमै पहिचान गर्ने र नियन्त्रणका कदम चाल्ने कार्यलाई तीव्र बनाउनु पर्छ,” उनले थपे।

भारतले जुनसम्म ३०,००० नमुनाको सिक्वेन्सिङ् गरेको छ तर यो कम भएको बताइन्छ।

हजारौँ कोभिड बिरामीको उपचार गरेका डा. ए फाथाउद्दिन खोपले अहिले देखिएका भेरिअन्टमा काम गरेको देखिए पनि नयाँ भेरिअन्टमा काम गर्ने कुनै निश्चितता नभएको बताउँछन्।

खोप लगाएका व्यक्तिहरू बिरामी परेको दृष्टान्तहरू पनि छन्।

उनी थप लहरहरू अवश्यम्भावी रहेको तर “उत्परिवर्तनहरू थाहा पाउन सिक्वेन्सिङ्लाई व्यापक बनाउने र सुरक्षा निर्देशिकालाई कडा रूपमा पालना गर्न लगाएर त्यसलाई ढिलो र नियन्त्रण गर्न सकिने” बनाउन सकिने बताउँछन्।

“यदि हामीले त्यस्तो गरेनौँ भने तेस्रो लहर हामीले सोचेभन्दा छिटो आउन सक्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *