कृषि कानुनको विरोधमा भारतको राज्यसभा बैठक अवरुद्ध

विपक्षी दलका सांसदहरूको अवरोधपछि भारतको माथिल्लो सदन राज्यसभाको बुधबारको बैठक स्थगित भएको छ ।

भारत सरकारले ल्याएका कृषिसम्बन्धी नयाँ कानुनहरूको विरोधमा विपक्षी दलका सांसदहरूले संसद्मा होहल्ला गरेका हुन् । सांसदहरूको अवरोधपछि बैठक मार्च १५ सम्मका लागि स्थगित गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सांसदहरूको अवरोधपछि राज्यसभाका उपाध्यक्ष हरिवंश नारायण सिंहले बैठक स्थगित गरेका हुन् । विपक्षी सांसदहरूले ती कानूनहरू तत्काल फिर्ता गर्न माग गरेका छन् । त्यसैगरी विपक्षी सांसदहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलगायतका विभिन्न विषयसमेत संसद्मा उठाएका छन् । यसअघि पनि उनीहरूले संसद् बैठक अवरुद्ध गरेपछि बुधबार मध्याह्न १२ बजेका लागि बैठक तय गरिएको थियो ।

भारतको राज्यसभामा अहिले बजेट अधिवेशनको दोस्रो सत्र चलिरहेको छ । गत सोमबारदेखि बजेट अधिवेशनको दोस्रो सत्र सुरु भएको हो । सरकारले ल्याएका तीनवटा कृषि कानुनहरूको विरोधमा भारतीय किसानले करिब ४ महिना अघिदेखि देशभर प्रदर्शन गर्दै आएका छन् । खासगरी पन्जाब, हरियाणा, उत्तरप्रदेश, राजस्थान, महाराष्ट्र, पश्चिम बंगाललगायत राज्यका किसानहरू सरकारले ल्याएका कानुन फिर्ताको माग गर्दै आन्दोलित भएका हुन् ।

यही विधेयकका कारण पहिलो चरणको बजेट अधिवेशन प्रभावित भएको थियो । संसद्मा प्रतिनिधित्व गर्ने भारतीय राष्ट्रिय कंग्रेससमेत २० भन्दा बढी दलले सरकारले ल्याएको कृषि विधेयकको विरोधसँगै संसद् बैठक बहिष्कार गरेका थिए । नयाँ कानुनमा भएको कृषि उपजसम्बन्धी व्यवस्थाप्रति किसान संगठनहरूको आपत्ति छ । नयाँ कानुनले कृषकहरूले दर्ता भएका मन्डीबाहिर पनि आफूखुसी कृषि उपज बेच्न पाउनुपर्ने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *