काठमाण्डू उपत्यकासहित देशका विभिन्न जिल्लामा कोभिड नियन्त्रण गर्न निषेधाज्ञा सुरु भएको एक महिना बितिसकेको छ।

कोभिडका कारण दैनिक मृत्यु पुष्टि गरिने सङ्ख्या वैशाख २६ यता १०० नाघेकोमा यसबीचमा दुई दिन मात्र १०० भन्दा कम भएको देखिन्छ। डा. कृष्णप्रसाद पौडेल भन्छन्, “अवस्था सामान्य हुन समय लागिरहेको छ। निषेधाज्ञा र स्वास्थ्य मापदण्डको पालनामा अझै जोड दिनुपर्ने देखिएको छ।” यसबीचमा एकैदिन करिब १० हजार नयाँ सङ्क्रमित भेटिएका बेला जेठ ५ मा अहिलेसम्मकै धेरै २४६ जनाले कोभिडसँग सम्बन्धित कारणले ज्यान गुमाएको पुष्टि भएको थियो। काठमाण्डू विश्वविद्यालयमा जनस्वास्थ्य विभागकी सहप्राध्यापक डा. अर्चना श्रेष्ठले “अहिलेको समय प्राकृतिक रूपमै भाइरस कम फैलिने अवस्थामा” रहेको बताउँछिन्। तर त्यसलाई जोखिम घटेको रूपमा बुझ्न भने नहुने उनको तर्क छ। “हामीले जसरी घट्यो भन्ने सोचिरहेका छौँ, अवस्था त्यति सहज चाहिँ होइन। सहज अवस्था भन्नका लागि परीक्षण गराएकामध्ये ५ प्रतिशतभन्दा कममा सङ्क्रमण देखिनुपर्छ।” “लकडाउन खुकुलो गर्दा व्यवस्थित उपायहरू अपनाएनौँ भने त्यो केही बढ्न सक्छ तर यो दोस्रो लहरमा सायद त्यस्तो उच्च सङ्क्रमण अब देखिँदैन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *