कर्णाली प्रदेश सरकारप्रति एमालेको समर्थन कायमै : योगेश भट्टराई

काठमाडौँ — नेकपा (एमाले) का केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले कर्णाली प्रदेश सरकारप्रतिको समर्थन कायम रहेको बताएका छन् । 

ललितपुरमा बुधबारदेखि सुरु (खनाल-नेपाल समूह) को राष्ट्रिय कार्यकर्ता भेलाबारे ब्रिफिङ गर्न आयोजित पत्रकार सम्मेलनमा भट्टराईले अहिलेसम्म समर्थन फिर्ता नभएको प्रस्ट पारेका हुन् । ‘कर्णाली प्रदेशमा एमाले र माओवादीको सरकार छ । त्यो सरकारप्रतिको समर्थन अहिलेसम्म कायम रहेको छ ।’

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही छन् ।

बुधबार सुर्खेतको वीरेन्द्रनगरमा बसेको अध्यक्ष केपी शर्मा ओली पक्षीय एमाले संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । बुधबार एमाले संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा दलको बैठक बसेको थियो । बैठकमा दलका २० (सभामुखसहित) सदस्यमध्ये केपी ओली समूहका १० सांसद उपस्थित रहेका दलका सचेतक गुलाबजंग शाहले बताएका थिए ।

बैठकले एमालेको तर्फबाट सरकारमा गएका तीनजना मन्त्री प्रकाश ज्वाला, दल रावल र नन्दसिंह बुढालाई पनि फिर्ता बोलाउने निर्णय गरेको उनले जानकारी दिए । दलको बैठकमा तीनजना मन्त्रीका साथै माधव नेपाल समूहका सांसद भने सहभागी थिएनन् ।

नेकपा गठनअघि २०७४ फागुनमा तत्कालीन एमालेले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको लागि माओवादी केन्द्रका संसदीय दलका नेता शाहीलाई समर्थन दिएको थियो । उक्त धारामा कुनै दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सकिने उल्लेख छ । तत्कालीन अवस्थामा एमालेका २० र माओवादी केन्द्रका १३ सांसदको समर्थनमा शाही मुख्यमन्त्री नियुक्त भएका थिए ।

एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा गठनपछि शाही नेतृत्वको सरकार धारा १६८ (१) को सरकारमा रुपान्तरण भएको थियो । उक्त धारामा प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेता मुख्यमन्त्री हुने उल्लेख छ । सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्केपछि कर्णाली सकार पुनः धारा १६८ (२) को अवस्थामा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *