कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी हुँदैनन् : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी नहुने बताएका छन् । बिहीबार गृह जिल्ला तनहुँको व्यास नगरपालिका– १, १० र ११ जोड्ने तालघारेस्थित बुल्दी खोला पुल उद्घाटन गर्दै नेता पौडेलले कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित नभएको समेत बताएका छन् ।

‘कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित छैन, त्यो हिजोको घटनाले पनि देखाएको छ’, नेता पौडेलले भने, ‘कुनै कारण, कुनै औचित्य पनि नभएको तर पुल उद्घाटन कार्यक्रमलाई बिथोल्न निषेधाज्ञा जारी गरेर मलाई धरपकड गरियो । यो लोकतन्त्रमाथिको नांगो नाच हो ।’

‘यो निषेधाज्ञा रामचन्द्र पौडेलका लागि मात्र होइन, दमौली र व्यास नगरपालिकाको वडा नम्बर १, ११ र १० का जनताका विरुद्ध मात्र पनि होइन’, पौडेलले भने, ‘यो निषेधाज्ञा सारा नेपाली जनताको अधिकारमाथिको निषेधाज्ञा हो । यसले मौलिक प्रश्न उठाएको छ, पाडो खानेले बाच्छो राख्दैन ।’ नेता पौडेलले भने, ‘कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित छैन । यो सिद्ध भएको छ । लोकतन्त्र संस्थागत गर्न अझै बाँकी छ, आजको यो हाम्रो उपस्थितिले त्यहीँ संकेत गरेको छ, अब आन्दोलनको सुरुवात भएको छ ।’

त्यस्तै, नेता पौडेलले राजनीतिलाई सुधार गर्नुपर्ने बताएका छन् । ‘राजनीतिमा विकृति व्याप्त छ, यसलाई पखालेर फाल्नुपर्छ र लोकतन्त्र साकार हुनुपर्छ’, उनले भने, ‘नेपाली कांग्रेसले नेपाली समाजलाई लोकतान्त्रिकरण गर्न लागि परेको छ । त्यसैले नेपाली कांग्रेस पहिला आफैं लोकतान्त्रिक बन्नुपर्छ । आफूभित्र भएको विकृतिलाई सुधार गर्दै अगाडि बढ्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *