कपिलवस्तु, रूपन्देही र पाल्पामा पनि बाघ

हालैको एक अध्ययनले कपिलवस्तु, रूपन्देही र पाल्पामा समेत बाघ रहेको पुष्टि गरेको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले संयुक्त रूपमा चुरे क्षेत्रमा गरेको अध्ययनले यस्तो देखाएको हो । ती जिल्लामा पहिलोपटक एक भाले र एक पोथी बाघ क्यामेरा ट्य्रापमा रेकर्ड भएका हुन् ।

‘बुटवलबाट उत्तर पश्चिमतिरको जंगलमा सन् २००८, २००९, सन् २०१३ र २०१८ मा बाघ र बाघका आहारा प्रजाति गणना गर्दा बाघ रेकर्ड भएको थिएन,’ भर्खरै सार्वजनिक ‘रिपोर्ट अन फाउना डाइभरसिटी इन चुरे रिजन अफ नेपाल’मा भनिएको छ, ‘समग्र चुरे क्षेत्रमा ४१ प्रजातिका स्तनधारी वन्यजन्तु क्यामेरा ट्य्रापमा रेकर्ड भएका छन् ।’

४१ मध्ये २० प्रजाति आईयूसीएनको रेडलिस्टमा सूचीकृतमध्येका हुन् । त्रिजुंगा वनक्षेत्र (कोसीटप्पु वन्यजन्तु आरक्षबाट उत्तर पश्चिम) मा काठे भालुमेत रेकर्ड भएको छ । यसअघि उक्त क्षेत्रमा काठे भालु पाइएको थिएन ।

समग्र चुरेक्षेत्रमा सबैभन्दा बढी रातो बाँदर रहेको समेत प्रतिवेदनमा उल्लेख छ । सरकारले संरक्षित सूचीमा राखेका २७ प्रजातिमध्ये चुरे क्षेत्रमा हुँडार र चितुवाको फैलावट सबभन्दा बढी छ । कालो सालक चुरेको चितवन र उदयपुरमा क्यामेरा ट्य्रापमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *