ओलीको असहमतिबीच यसरी भयो नेकपामा स्थायी कमिटी बैठकको निर्णय

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको असहमतिबीच आइतबार नेकपाको स्थायी कमिटी बैठक तय भएको छ । शनिबारको सचिवालय बैठकमा ओलीले आइतबार बैठक बस्न नसक्ने अडान लिए पनि बहुमत सदस्यले कार्यसूचिसहित पूर्वनिर्धारित बैठक गर्ने निर्णय लिएका हुन् । 

सचिवालयका एक सदस्यका अनुसार बैठकको सुरुमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा गम्भीर संकट रहेको र यसलाई समाधान गर्न थप छलफलको खाँचो रहेको बताएका थिए ।

‘संकट समाधान गर्न मैले पनि प्रस्ताव पेस गरेको छु । केपी कमरेडले पनि पेस गर्नुभएको छ । त्यसमाथि छलफल गर्ने हो । धेरै दिनपछि आज केपी कमरेड र मेरोबीचमा कुरा भयो । तर त्यसमा केही सहमति, निष्कर्ष केही भएको छैन । भोलि स्थायी कमिटीको बैठक बोलाएकै छौं,’ दाहालको भनाई उद्धृत गर्दै एक सदस्यले भने, ‘यही सचिवालयमा छलफल गरेर एउटा निष्कर्ष निकालौं न भन्ने पनि छ । तर त्यसो गर्नु उपयुक्त हुन्छजस्तो लाग्दैन । स्थायी कमिटी बैठकमा जाऔं । भोलि प्रस्ताव बाँडौं । त्यसपछि अध्ययन गर्न भनौं । त्यसपछि स्थायी कमिटीकै अनुमतिमा केही समय लिएर अनौपचारिक छलफल गृहकार्य गरौंला ।’

दाहालको प्रस्तावमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापाले दाहालको प्रस्तावमा सहमति जनाएका थिए ।

सचिवालय सदस्य ईश्वर पोखेरलले पहिला सचिवालयकै बैठकमा छलफल गरेरमात्रै स्थायी कमिटीमा जाँदा राम्रो हुने भए पनि सचिवालयमा नसकेपछि स्थायी कमिटीमा जानु नै उपयुक्त हुने बताएका थिए । उनले आफूले आफ्ना विचार त्यहीँ राख्ने पनि बताएका थिए । महासचिव विष्णु पौडेलले सचिवालयको औचित्यमाथि प्रश्न उठाएका थिए । उनले सचिवालयको औचित्य समाप्त भइसकेको हो त भनेर प्रश्न गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *