उत्तराखण्डमा हिमनदी विस्फोट : ११ शव फेला, डेढ सयभन्दा बढी सम्पर्कविहीन

भारत, उत्तराखण्डको चमोलीमा हिमनदी फुटेर धौलीगंगालगायत नदीहरूमा आएको बाढीमा बेपत्तामध्ये थप तीन जनाको शव फेला परेको छ । चमोली जिल्लाका सूचना अधिकृत रवीन्द्र सिंहका अनुसार सोमबार बिहानसम्म ११ जनाको शव बरामद गरिएको छ भने अझै १५३ जनाभन्दा बढी सम्पर्कविहीन छन् ।

उद्धार टोलीले आइतबार साँझसम्म बाढीले ल्याएको हिलो र लेदोमा पुरिएका आठ जनाको शव निकालेको थियो । तीमध्ये एक नेपाली रहेको सिंहले बताएका थिए । ती नेपालीको नाम र ठेगाना अझै पनि नखुलेको उनले जानकारी दिए । हालसम्म २५ जनाको जीवितै उद्धार गरिएको पनि सिंहले बताए ।

उत्तराखण्डको जोशी मठनजिक हिमनदी फुटेपछि धौलीगंगा, अलकनन्दालगायत नदीमा बाढी आएको थियो । धौलीगंगाको बाढीले चमोली जिल्लाका रैनी र तपोवन क्षेत्रमा ठूलो मात्रामा क्षति पुर्‍याएको छ । हिमनदी फुटेको क्षेत्रनजिकका दुई गाउँ पनि बगाएको छ । त्यसै गरी बाढीले जोशीमठमा एउटा पुल, चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको बताइएको छ । रैनी गाउँको तपोवनस्थित ऋषिगंगा जलविद्युत् परियोजनामा पूर्ण रूपमा क्षति भएको सूचना अधिकारी सिंहले जानकारी गराएका छन् । उनका अनुसार त्यहाँ ३५ जनाभन्दा बढी काम गर्ने गरेकोमा १२ जनाको जीवितै उद्धार गरिएको छ । बाँकीको अवस्था अझै अज्ञात छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *