उत्तराखण्डको बाढीमा मृत्यु हुने ३१ पुगे

भारतको उत्तराखण्ड राज्यस्थित चमोली जिल्लामा आइतबार हिमनदी फुटेर आएको बाढीका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ । अधिकारीहरुका अनुसार अझै १ सय ५० भन्दा बढी बेपत्ता छन् ।

हिमपहिरोका कारण हिमनदी फुटेपछि आइतबार धौलीगंगा, अलकनन्दालगायत नदीमा पानीको वहाव ह्वात्तै बढेपछि दुइटा विद्युत् आयोजनाका ड्याम भत्केका थिए । धौलीगंगाको बाढीले चमोली जिल्लाको रैनी र तपोवन क्षेत्रमा ठूलो मात्रामा क्षति पुर्‍याएको हो । बाढीका कारण पुल तथा सडक भत्किएका छन् । तपोवन विद्युत् आयोजनाको सुरुङभित्र कम्तीमा ३५ जना कामदार फसेका उद्धारकर्ताहरुले आशंका गरेका छन् ।

स्थानीयवासी ओम अग्रवालले तीव्र गतिको नदीको वहाव पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनमा भूकम्प गएझैं अनुभव गरिएको बताए । उत्तराखण्ड सरकारले मंलबारसम्म ३१ जनाको शव निकालिएको जनाएको छ । मृतक तथा बेपत्ता हुनेहरु सबैजसो विद्युत् गृहमा कार्यरत मजदुर भएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उत्तराखण्ड सरकारका अनुसार मंगलबार बिहानैदेखि थप उद्धारकर्मीहरु बाढी प्रभावित क्षेत्रमा खटिएका छन् । अधिकारीहरुका अनुसार तपोवनस्थित जलविद्युत् आयोजना एनटीपीसीको करिब १ हजार ९ सय मिटर लामो सुरुङमा उद्धार कार्य केन्द्रित गरिएको छ । बाढीपछि बेपत्ताहरुको खोजीका लागि सेना, प्रहरी र उद्धारकर्मी खटाइएको छ । उक्त आयोजनाको निर्माण सन् २०२३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *