इजरायलमा दुई वर्षभित्रको अवधिमा चौथो पटक संसदको निर्वाचन मङ्गलबार शुरु भएको छ । संसदमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि चौथो पटक चुनाव हुन लागेको हो । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टी पुनः सत्तामा पुग्छ वा पुग्दैन भन्ने यस चुनावले निक्र्यौल गर्नेछ ।
चुनावमा करिब ६५ लाख मतदाताले मतदान गर्नेछन् । इजरायलको इतिहासमा राजनीतिक असमझदारीले लगातार चौथो पटक निर्वाचन हुन लागेको हो । पछिल्लो पटक संसदमा कुनै दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि मुख्य विपक्षीसँग मिलेर सत्ता साझेदारी गरे पनि गठबन्धन टुटेको थियो ।
इजरायलका प्रधानमन्त्री नेतन्याहूमाथि भ्रष्टाचारको आरोप लागे पनि उहाँले प्रधानमन्त्री र पार्टीको नेता पदबाट राजीनामा गर्नुभएको छैन । उहाँमाथिका मुद्दा हाल अदालतमा विचाराधीन अवस्थामा छन् । तर प्रधानमन्त्री नेतन्याहूले आफूले भ्रष्टाचारजन्य कार्यहरु नगरेको दाबी गर्दै आउनुभएको छ ।