इजरायलमा कामका लागि जान खुल्यो बाटो

इजरायलको केयरगिभर क्षेत्र (स्याहारसुसार केन्द्र) मा जान रोकिएको नेपाली श्रमिकका लागि झन्डै ११ वर्षपछि बाटो खुलेको छ । आकर्षक सेवासुविधा र मर्यादित कार्यस्थल मानिएको इजरायलमा श्रमिकमाथि अत्यधिक आर्थिक भार परेको भन्दै सन् २००९ देखि नेपाली जान रोकिएको थियो ।

इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता कार्यान्वयन गर्न बिहीबार दुई देशबीच हस्ताक्षर भएपछि नेपालीका लागि बाटो खुलेको हो । प्रोटोकलमा वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायलका तर्फबाट नेपालका लागि इजरायली राजदूत खनान गोडेरले हस्ताक्षर गरेका छन् ।

‘श्रम सम्झौतालाई कार्यान्वयन गर्न प्रोटोकलमा भएको हस्ताक्षरले श्रमिक पठाउने बाटो खोलेको छ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता भरतमणि पाण्डेले कान्तिपुरसँग भने, ‘मन्त्रालयले आन्तरिक कार्यविधि बनाउनासाथ श्रमिक पठाउने प्रक्रिया सुरु भइहाल्छ ।’

उनका अनुसार पहिलो चरणमा ५ सय जना श्रमिकलाई पठाइनेछ । जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छन् । ‘तत्काल ५ सय जना जाने हो । त्यसपछि पनि थपिँदै जान सक्छ,’ उनले भने, ‘छनोट विधि र लागतको विषय कार्यविधिले तय गर्नेछ ।’ अब जाने श्रमिकले घरमा नभई अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायतमा काम गर्नेछन् । यसअघि घरमै बस्ने गरी कियरगिभरको काममा नेपालीलाई लगिएको हुन्थ्यो । श्रमिकले मासिक खाना र आवाससहित १५ सय डलर पाउने छन् । राजदूत गोडेरले नेपाली श्रमिकले इजरायली नागरिकसरह नै सेवासुविधा तथा पारिश्रमिक पाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *