आर्मी रोकिएपछि एपीएफ दुई खेलअघि नै च्याम्पियन

सशस्त्र प्रहरी बलको एपीएफ क्लबले दुई खेल बाँकी छँदै महिला राष्ट्रिय लिग फुटबलको उपाधि रक्षा गरेको छ । दोस्रो स्थानमा रहेको आर्मी बुधबारको पहिलो खेलमा १–१ मा रोकिएपछि एपीएफ दुई खेलअगावै च्याम्पियन भएको हो ।

पहिलोपल्ट आयोजित ‘डबल लिग’मा एपीएफले शतप्रतिशत जितसहित १० खलेलबाट ३० अंक जोडेको छ । सात टिम सहभागी लिगमा उसले ११ औं चरणको खेलमा अहिले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विराटनगर महानगरपालिकाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । वर्षातबीच यस खेलमा मैदानमा ओर्लनुअघि नै एपीएफले उपाधि निश्चित गरेको हो । यो लिगमा सात ह्याट्रिकसहित ४३ गोल गरेकी सावित्रा भण्डारी पुलिसविरुद्ध सोमबारको खेलमा घाइते भएपछि उनीबिना नै एपीएफ खेलिरहेको छ ।

दोस्रो स्थानमा रहेको आर्मीले ११ औं चरणमा पुलिसविरुद्ध बराबरीमा राकिएपछि २६ अंक बनायो । उसले फागुन ७ गते हुने लिगको अन्तिम खेलमा एपीएफको सामना गर्नेछ । तर, त्यो खेल जित्न सक्यो भनेपनि आर्मीले एपीएफलाई भेट्ने छैन । त्यसैले राष्ट्रिय खेलाडीले भरिएको एपीएफले दुई खेल बाँकी छँदै उपाधि रक्षा गरेको हो ।

अमृता जैशीले १७ औं मिनेटमै पुलिसलाई अग्रता दिलाएपनि रश्मी घिसिङले ५७ औं मिनेटमा गोल गर्दै आर्मीलाई १–१ को बराबरीमा पुर्‍याएकी थिइन् । प्रतिस्पर्धात्मक खेलको इन्ज्युरी टाइममा पुलिसले पेनाल्टीको अवसर पाएको थियो । तर, पेनाल्टीमा कप्तान घिमकुमारी गुरुङले प्रहार गरेको बल पोष्टमाथिबाट बाहिरिएपछि पुलिस तीन अंक जोड्न चुक्यो । आर्मीले पुलिसविरुद्ध जित हात पारेको भए एपीएफले उपाधि पक्का गर्न विराटनगरलाई पराजित गर्नैपर्ने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *