आइसल्यान्डमा ज्वालामुखी विस्फोट

आइसल्यान्डमा ज्वालामुखी विस्फोट भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार आइसल्यान्डको राजधानी रिक्याभिकको दक्षिण पश्चिममा रहेको रेकानस प्रायद्वीपमा शुक्रबार ज्वालामुखी विस्फोट भएको हो । 

ज्वालामुखी विस्फोटका कारण ५ सयदेखि ७ सय मिटरसम्म लामो धाँजा फाटेको आइसल्यान्डको मौसम विभागले जनाएको छ ।
ज्वालामुखी विस्फोट भएको क्षेत्र राजधानीबाट ३० किलोमिटरको दूरीमा रहेको समाचार संस्था रोयटर्सले जनाएको छ । आइसल्यान्डको मौसम विभागका अनुसार रेकानसमा यसअघि करिब ८ सय वर्षअघि ज्वालामुखी विस्फोट भएको थियो । पछिल्ला तीन हप्तामा आइसल्यान्डमा ४० हजारभन्दा बढी भूकम्प गइसकेको छ ।

ज्वालामुखी विस्फोटबाट तत्काल नजिकका बस्तीमा रहेका मानिस र भौतिक संरचनामा क्षति नपुग्ने पनि आइसल्यान्डका अधिकारीले बताएका छन् । यो विस्फोटलाई सानो विस्फोटका रुपमा वर्गीकरण गरिएको छ ।

यसअघि सन् २०१० मा आइसल्यान्डको हेयाफियात्लाहयाहकुत्लमा भएको ज्वालामुखी विस्फोटका कारण भने हवाई उडानहरु प्रभावित भएका थिए । उक्त विस्फोटका कारण करिब ९ लाख उडान रोकिएका थिए भने आइसल्यान्डका सयौं नागरिक प्रभावित भएका थिए । अहिलेको ज्वालामुखी विस्फोटबाट त्यति धेरै खरानीको धुलो र धूवाँ वायुमण्डलमा नमिसिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *