अस्ट्रेलियालीहरूले आस्ट्राजेनेका खोप लगाउन किन मानिरहेका छैनन्?

अस्ट्रेलियाली चिकित्सकहरूले त्यहाँ आस्ट्राजेनेका खोप लगाउने दिन निर्धारण गरेका व्यक्तिहरूले त्यसलाई रद्द गर्ने क्रम बढेको जानकारी दिएका छन्। त्यहाँको सरकारले गत हप्ता आफ्नो निर्देशिकामा परिमार्जन गर्दै ६० वर्षभन्दा माथिकालाई मात्र उक्त खोप लगाउन सिफारिस गरेपछि यस्तो प्रवृत्ति देखिएको हो। उक्त खोप लगाएपछि दुर्लभ रूपमा देखिने रगत जम्ने समस्यासम्बन्धी विवरणहरूलाई मध्यनजर गर्दै सरकारले त्यस्तो सिफारिस गरेको थियो। ६० वर्ष मुनिका व्यक्तिहरूलाई फाइजरको खोप लिन सुझाइएको छ तर त्यसको आपूर्ति सीमित छ।

आस्ट्राजेनेका जस्तो विश्वभरि व्यापक रूपमा प्रयोग भएको खोपलाई अस्वीकार गर्ने कुरा अहिले पनि कोभिडको बढ्दो सङ्क्रमणसँग सङ्घर्ष गरिरहेका देशहरूमा अस्वभाविक लाग्नसक्छ। तर अस्ट्रेलिया कोरोनाभाइरस व्यापक रूपमा नफैलिएका केही देशहरूमध्ये पर्छ। त्यसैले सिड्नी र मेलबर्नजस्ता शहरमा स्थानीय बासिन्दाहरूले कोभिड सङ्क्रमणको जोखिमभन्दा खोपका कारण हुनसक्ने भनिएको रगत जम्ने दुर्लभ घटनाको जोखिमलाई ठूलो रूपमा लिएको हुनसक्छ। खोपप्रतिको सङ्कोच अस्ट्रेलियामा महिनौँ देखिको समस्या हो।

तर विज्ञहरू सरकारको पछिल्लो खोप निरुत्साहित गर्ने खाले कदमले देशव्यापी खोप कार्यक्रमको प्रगतिमा बाधा सिर्जना गर्ने चिन्ता व्यक्त गर्छन्।

“रोयल अस्ट्रेलियन कलेज अफ जेनरल प्राक्टिस्नर्स” की अध्यक्ष डा. क्यारन प्राइस् भन्छिन्, “देशभरि नै मानिसहरूले खोप लगाउन लिएको समय रद्द गरिरहेका छन् अथवा उनीहरूले दोस्रो मात्रा खोप पनि लिनुपर्छ र? भनेर सोधिरहेका छन्।”

“यसले निश्चय नै खोप कार्यक्रममा ठूलो बाधा सिर्जना गरेको छ,” उनले बीबीसीसँग भनिन्।

“हामीले खोपप्रतिको विश्वासलाई पुन: सङ्गठित गरेर हासिल गर्नैपर्छ, खोप कार्यक्रमलाई कायम राख्नु महत्त्वपूर्ण छ। हामीसँग अझै पनि खोप लगाउन बाँकी जेष्ठ नागरिकहरू छन् र हामीले समुदायमा पुन: सङ्क्रमण देखिरहेका छौँ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *