अस्ट्रेलियामा समाचारका लागि गुगल र फेसबुकले पैसा तिर्नुपर्ने कानुन पारित

अस्ट्रेलियाले गुगल र फेसबुकले आफ्नो प्लेटफर्मका समाचार प्रकाशित गरेबापत प्रकाशकलाई शुल्क तिनुपर्ने कानुन पारित गरेको छ ।

यस्तो कानुन विश्वकै पहिलो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अस्ट्रेलिया सरकारले ल्याएको कानुनको अमेरिकी प्रविधि कम्पनीहरुले व्यापक विरोध गर्दै आएका थिए ।

गत हप्ता मात्रै त्यही कानुनको विरोधमा फेसबुकले अस्ट्रेलियाका सबै समाचार बन्द गरेको थियो । अस्ट्रेलिया सरकारसँगको सम्झौतापछि फेसबुकले समाचार सामग्रीमाथिको रोक हटाएको छ । फेसबुक र गुगलसँगको कुराकानीपछि अस्ट्रेलियाले तल्लो सदनमा प्रस्तावित अवस्थामा रहेको कानुन संशोधन गरेको थियो । नयाँ कानुनले दुवै कम्पनीलाई राहतको व्यवस्था गरेको बताइएको छ । तर दुवै कम्पनीलाई अस्ट्रेलियाका प्रकाशकलाई आकर्षक रकम दिनका लागि प्रतिबद्ध गराइएको छ ।

नयाँ कानुनअनुसार फेसबुक र गुगलजस्ता कम्पनीले सोझै समाचार प्रकाशकसँग सम्झौता गर्न सक्नेछन् । अस्ट्रेलियाको नयाँ कानुन विश्वभरका नियामक निकायका लागि डिजिटल प्लेटफर्ममा समाचार सामग्रीको भुक्तानीका लागि एउटा प्रभावकारी मोडेल हुन सक्ने बताइएको छ । बिहीबार अस्ट्रेलियाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले नयाँ कानुन पारित गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *