दक्षिण अस्ट्रेलियाबाट एक घण्टाको दूरीमा करिब ३० हेक्टर जमिन लिएर व्यावसायिक खेती गर्दै आएका नेपाली कृषक दीपक लामालाई कोरोनाका कारण कामदारको अभाव भयो । चिनजानका मान्छे मात्र नभई सामाजिक सञ्जालमार्फत समेत आफूलाई कृषि क्षेत्रमा काम गर्ने कामदार चाहिएको जानकारी गराए । तर समयमै कामदार पाउन सकेनन् ।
थोरै जग्गामा व्यावसायिक खेती गर्ने लामालाई मात्र होइन, अहिले अस्ट्रेलियामा कृषि क्षेत्रमा काम गर्ने कामदारको व्यापक अभाव देखिएको छ । समाचार माध्यमका अनुसार अहिले अस्ट्रेलियाका दुर्गम कृषि क्षेत्रमा काम गर्न मात्र २६ हजारभन्दा बढी कामदारको अभाव छ । न्यु साउथ वेल्स, क्विन्सल्यान्ड, दक्षिण अस्ट्रेलियालगायत राज्यका दुर्गम क्षेत्रमा कामदारकै अभावमा कृषकले कृषि उत्पादन बेच्न नपाएर फ्याँक्नुपरेको समाचारसमेत सार्वजनिक भएका छन् । अस्ट्रेलियाको कृषि क्षेत्रमा कामदारको व्यापक अभाव भएपछि विपक्षी दल लेबरका कृषि प्रवक्ता एड हुसिकले कृषिमन्त्री डेभिड लिटलप्राउडलाई गत साता पत्र लेखेरै समस्याको समाधान गर्न आग्रह गरेका छन् । एएफपीका अनुसार उनले केन्द्र तथा राज्यका मन्त्री सम्मिलित बैठक गर्नसमेत आग्रह गरेका छन् । कोरोना भाइरसको संक्रमण बढेसँगै हरेक वर्ष छोटो समयको कामदार भिसामा आउने विदेशी आउन नपाएपछि यो समस्या अझ चर्किएको हो । सरकारले स्थानीय नागरिकलाई कृषि क्षेत्रमा काम गर्नका लागि आग्रह गरे पनि कामदारको समस्या कायमै रहेको कृषकले गुनासो गरेका छन् । कामदारको अभावमा आफूले फलाएको उब्जनी बोटबाट टिप्न नपाएपछि दसौं हजार बराबरको उत्पादन कृषकले फ्याँक्नुपरेको समाचारमा जनाइएको छ ।