अमेरिकी संसद् भवनबाहिर आक्रमण : एक प्रहरी अधिकृत र आक्रमणकारीको मृत्यु

वासिङ्टनस्थित अमेरिकी संसद् भवन(यूएस क्यापिटल बिल्डिङ कम्प्लेक्स) मा भएको आक्रमणमा एक जना प्रहरी अधिकारीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो सुरक्षाका लागि राखिएको ब्यारिकेडमा एउटा कारले ठक्कर दिएर अधिकारीमाथि आक्रमण भएको थियो । कारमा सवार ती व्यक्ति ओर्लिएर प्रहरी अधिकारीलाई चक्कु प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आफूमाथि आक्रमण भएपछि प्रहरीले गोली चलाउँदा आक्रमणकारीको पनि मृत्यु भएको छ । संदिग्ध आक्रमणकारीको २५ वर्षीय नोआह ग्रीनका रुपमा पहिचान खुलेको सीएनएनले जनाएको छ । क्यापिटल प्रहरी प्रमुख योगानन्द पिटम्यानका अनुसार आक्रमणमा परी प्रहरी अधिकृत विलियम बिली इभान्सको मृत्यु भएको हो । उनी १८ वर्षदेखि क्यापिटल पुलिस फोर्समा कार्यरत थिए ।

प्रहरी अधिकारीले उक्त आक्रमण आतंकवादसँग भने नजोडिएको बताएका छन् । डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका सचिव अलेजान्द्रो मायोर्कासले आक्रमणका बारेमा अनुसन्धान भइरहेको बताएका छन् । अनुसन्धानका लागि प्रहरीलाई डिपार्टमेन्टको पूर्ण समर्थन रहेको पनि उनले बताए ।

आक्रमणपछि अमेरिकी संसद् भवन वरपर भारी मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार क्यापिटल बिल्डिङको कन्स्टिच्युसन एभेन्यूको प्रवेश बिन्दुमा रहेको ब्यारिकेडमा कारले ठक्कर दिएको थियो । जुन बाटो सिनेटर र संसद् भवनका कर्मचारीले प्रयोग गर्दछन् । अहिले अमेरिकी संसद्मा अधिवेशन नचलेकाले अधिकांश सिनेटर त्यहाँ थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *