अमेरिकी विदेश र रक्षा मन्त्री जापान भ्रमणमा

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोयड अस्टिन जापानको भ्रमणमा टोकियो पुग्नुभएको छ । यो उहाँहरुको पहिलो विदेश भ्रमण पनि हो । टोकियोमा जापानी विदेशमन्त्रीसँगको प्रारम्भिक चरणको वार्तापछि अमेरिकी मन्त्रीहरुले एसिया–प्रशान्त क्षेत्रमा अस्थिरता निम्त्याउने गरी चीनले अघि सारेका गतिविधिहरु स्वीकार्य नहुने चेतावनी दिनुभयो ।
चीनको प्रभाव बढ्दै भन्दै अमेरिकाको वर्तमान जो बाइडेन प्रशासनले आफ्ना साझेदार मुलुकहरुबीचको परम्परागत गठबन्धन अझ सुदृढ गर्ने योजना अघि सारेको छ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गठबन्धन मुलुकलाई चिढ्याएका कारण अमेरिका र यसका साझेदार मुलुकले दबाब खेप्नु परेको भन्दै बाइडेन प्रशासनले गठबन्धनलाई पुनर्जीवित तुल्याउने घोषणा गर्नुभएको छ ।
जापानी समकक्षीसँगको भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा उहाँहरुले चीनका पछिल्ला गतिविधिहरु विश्व मामिला अनुकूल नभएको दाबी गर्दै चीनका यी गतिविधिबाट विश्वमै राजनीतिक, आर्थिक, सैनिक र प्रविधिगत चुनौती बढेको बताइएको छ । अमेरिका र जापान दुवै पक्षले एसिया प्रशान्त क्षेत्रमा विकास भइरहेका गतिविधिप्रति गम्भीर चासो व्यक्त गरेका छन् ।
अस्टिन र ब्लिन्केनले उत्तर कोरियाली नीतिको पनि समीक्षा गर्ने अपेक्षा गरिएको छ । वक्तव्यमा उहाँहरुले उत्तर कोरियालाई पूर्ण आणविक निरस्त्रीकरणका लागि आग्रह गर्नुभएको छ । उहाँहरुले उत्तर कोरियाली आणविक हातहतियारहरु अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वका लागि खतरा रहेको पनि बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *