अमेरिकी राष्ट्रपति बाइडेनको ‘पहिलो संवाद’ क्यानडेली प्रधानमन्त्री ट्रुडोसँग

अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग टेलिफोन कुराकानी गर्ने भएका छन् । राष्ट्रपति बाइडेनकी प्रेस सचिव जेन साकीले आफ्नो पहिलो ह्वाइटहाउस मिडिया ब्रिफिङका क्रममा बाइडेनले क्यानडेली प्रधानमन्त्री ट्रुडोसँग कुराकानी गर्ने जानकारी दिएकी हुन् ।

बाइडेनले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि पहिलो विदेशी नेताका रुपमा ट्रुडोसँग कुराकानी गर्दै छन् ।

साकीले मिडिया ब्रिफिङका क्रममा भनिन्, ‘राष्ट्रपति जो बाइडेनले शुक्रबार क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोलाई पहिलो फोन गर्नुहुनेछ । मलाई आशा छ कि क्यानडासँगको विशेष सम्बन्धका साथै किस्टोन एक्सएल पाइपलाइनजस्ता महत्त्वपूर्ण मुद्दामा हामीले जुन फैसला लिइरहेका छौं, त्यसबारे पनि कुराकानी हुनेछ ।’

साकीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गर्ने अहिले कुनै योजना नभएको पनि बताइन् । विश्वका विभिन्न मुलुकसँग नयाँ शिराबाट सम्बन्धको सुरुवात गर्ने र अहिलेका चुनौतीलाई मिलेर सामना गर्ने बाइडेनको प्रमुख प्राथमिकता हुने पनि साकीले जानकारी दिइन् । उनले भनिन्, ‘जो बाइडेनको शीर्ष प्राथमिकता अमेरिकी नागरिकलाई कोभिड–१९ राहत प्याकेज दिने हुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *