अमेरिकी राज्य जर्जियाका तीन स्थानमा भएको गोली प्रहारमा कम्तीमा ८ जनाको ज्यान गएको छ । मृत्यु हुनेमध्ये ६ जना एसियाली महिला छन् ।
प्रहरीका अनुसार एट्लान्टाको उत्तरी क्षेत्रको एक मसाज पार्लरमा चार जना र दुइटा स्पामा चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये चार जना आफ्नो देशका नागरिक भएको दक्षिण कोरियाले पुष्टि गरेको छ । अधिकारीहरूले तीनवटै घटनामा संलग्न रहेको आशंकामा एक २१ वर्षीय पुरुषलाई पक्राउ गरिएको बताएका छन् ।
घटनाबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । तर हालैका दिनमा एसियाली मूलका मानिसले कोरोना भाइरस फैलाएको आरोप खेपिरहेका बेला अमेरिकामा एसियाली मूलमा मानिस लक्षित अपराध बढेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत साता एसियाली मूलका अमेरिकीप्रति भएको आक्रमण, दुर्व्यवहार र आरोपको खण्डन गरेका थिए ।
तीनमध्ये पहिलो आक्रमण स्थानीय समयअनुसार मंगलबार साँझ ५ बजे योङ एसियन मसाज पार्लरमा भएको बीबीसीले उल्लेख गरेको छ । प्रहरी अधिकारीका अनुसार दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । घाइते तीन जनालाई अस्पताल लगिएकामा दुई जनाको उपचारका क्रममा ज्यान गएको हो । अधिकारीका अनुसार त्यहाँ मारिएकामध्ये दुई जना एसियाली महिला, एक श्वेत पुरुष र एक श्वेत महिला हुन् । गोली प्रहारको घटनाभन्दा करिब एक घण्टाअघि प्रहरीलाई उत्तर–पूर्वी एट्लान्टाको एक स्पामा लुटपाट भइरहेको भन्दै खबर गरिएको थियो । ‘घटनास्थल पुगेका अधिकारीहरूले तीन महिला मृत फेला पारेका थिए । उनीहरूको जीउमा गोलीको घाउ देखिएको थियो,’ प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । घटनास्थलमा रहेका प्रहरीलाई सडकपारि रहेको अर्को एक स्पामा बोलाइएको थियो । त्यहाँ अर्की महिला मृत अवस्थामा भेटिएकी थिइन् ।