अब राजतन्त्र फर्कंदैन : महामन्त्री कोइराला

कांग्रेस महामन्त्री शशांक कोइरालाले देशमा अब राजतन्त्र फर्केर नआउने बताएका छन् । विराटनगरस्थित कोइरालानिवासमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले जनमत संग्रहमार्फत हिन्दु राष्ट्र स्थापना गर्नुपर्नेमा भने जोड दिए ।

‘कांग्रेसको सरकार बनेर राजनीतिक स्थिरता आएपछि जनमत संग्रहमार्फत हिन्दु राष्ट्र स्थापना गराउनुपर्छ,’ उनले भने, ‘तर मुलुकमा राजा कुनै पनि स्वरूपमा आउँदैन ।’

पत्रकार सम्मेलनमा कोइरालाले पार्टीको महाधिवेशन आगामी फागुन ७ मा सम्भव नभएको भन्दै जेठमा गर्नुपर्ने पनि बताए । ‘पार्टीको क्रियाशील सदस्यताको अन्तिम टुंगो लगाउनै तीन महिना लाग्छ,’ उनले भने, ‘त्यसैले फागुनसम्ममा क्रियाशील सदस्यताको अन्तिम टुंगो लगाएर जेठमा महाधिवेशन गराउनुपर्छ ।’

उनले आउँदो महाधिवेशनमा आफूहरूका तर्फबाट जो भए पनि सभापतिको उम्मेदवार एक जना मात्रै हुने स्पष्ट पारे । आउँदो महाधिवेशनका लागि आफू र शेखर कोइरालामध्ये को सभापतिको उम्मेदवार हुने भन्ने निर्णय पार्टीका नेता, कार्यकर्ता र आपसी छलफलले टुंगो लाग्ने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *