भारतको राजधानी दिल्लीका ठूला अस्पतालमा केही दिनयता देखिएको अक्सिजनको चरम अभाव अझै हट्ने संकेत देखिएको छैेन । केही अस्पतालले सीमित समयका लागि अक्सिजन रहेको भन्दै सामाजिक सञ्जामार्फत सहयोगको अपिलसमेत गरेका छन् ।
दिल्लीकै मूलचन्द अस्पतालले शनिबार बिहान अक्सिजन आपूर्तिका लागि ट्वीटमार्फत् अनुरोध गरेको छ । शनिबार बिहान ट्वीट गर्दै अस्पतालले दुई घण्टाका लागि मात्र अक्सिजन बाँकी रहेको जनाएको छ । ‘तत्काल सहयोग चाहियो । अब दुई घण्टालाई पनि नपुग्ने अक्सिजन बाँकी छ ।
हामीलाई सबैजसो अधिकारीहरुलाई सम्पर्क गर्ने प्रयास गऱ्यौँ तर सफल भएनौँ । अस्प्तालमा अझै पनि १३५ जना कोरोना बिरामीलाई लाइफ सपोर्टमा राखिएको छ,’ अस्पतालले ट्वीटमा भनेको छ ।
अक्सिजन अभावकै कारण केही अस्पतालहरुमा पछिल्ला दुई दिनमा सिकिस्त बिरामीहरुको मृत्युसमेत भएको छ । दिल्लीको जयपुर गोल्डेन अस्पतालमा शुक्रबार राति अक्सिजन आपूर्ति पर्याप्त नहुँदा २० जना कोरोनाका सिकिस्त बिरामीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । शनिबार बिहान एक घण्टाका लागि मात्र अक्सिजन रहेकाले २०० भन्दा बढी बिरामीको ज्यान खतरामा परेको भन्दै अस्पताल प्रशासनले तत्काल सहयोगका लागि सरकारसँग अनुरोध गरेको बताइएको छ ।