४० वर्षदेखि जेलमा रहेका दुर्गाप्रसादलाई लिन कोलकाता पुगे भाइ

प्रकाशचन्द्र तिम्सिनाको मुहार हँसिलो छ आज । किनकि शुक्रबार उनी ४० वर्षदेखि जेलमा रहेका दाजु दुर्गाप्रसादलाई दोस्रोपटक भेट्दै छन् । यसपटक उनी दाजुलाई लिएर घरै फर्कनेछन् ।

४० वर्षदेखि जेलमा रहेको दाजुलाई लिएर घर फर्किने कुराले ज्यादै उत्साहित छु,’ प्रकाशचन्द्रले कोलकातास्थित महावाणिज्य दूतावासको कार्यालय परिसरमा भने, ‘मभन्दा खुसी त आमा हुनेछिन् ।’

कोलकाताको दमदमस्थित सेन्ट्रल जेलमा रहेका इलामको माई नगरपालिका–१० लुम्बाकका दीपक जैसी भनिने दुर्गाप्रसादलाई छाड्न बुधबार कोलकातास्थित उच्च न्यायालयले आदेश दिएको थियो ।

‘आज अदालतले दीपकलाई भाइ प्रकाशको जिम्मा लगाउनेछ’, वाणिज्य दूतावासका सेक्रेटरी सतीश थापाले भने, ‘केही अदालती प्रक्रियापछि उनलाई भाइको साथ लगाएर नेपाल पठाइनेछ ।’

हरेक ६ महिनामा दुर्गाप्रसादको मानसिक स्थितिबारे प्रकाशले कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराउनुपर्ने प्रावधान अदालतले राखेको छ । महावाणिज्य दूतावासले त्यसको जानकारी अदालतलाई दिनुपर्नेछ ।

सन् १९८० मा भारतको दार्जिलिङमा हत्या आरोपमा पक्राउ परेका तिम्सिनाको मानसिक अवस्था ठीक नभएको भन्दै पछिल्लो १५ वर्षयता कोलकातास्थित ‘दमदम सेन्ट्रल करेक्सनल होम’मा राखिएको थियो ।

विश्व सेवा विस्तार संस्थाको पहलमा एक महिनाअघि प्रकाशचन्द्रले दमदम जेलमा पुगेर दाजुलाई भेटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *