अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा फोन रेकर्ड बाहिरिएको छ । जसमा राष्ट्रपति ट्रम्पले जर्जिया राज्यका वरिष्ठ चुनाव अधिकृतलाई केही भोटको व्यवस्था गर्न दबाब दिएका छन् ।
आफ्नो जित सुनिश्चित गर्न ट्रम्पले सेक्रेटरी अफ स्टेट ब्राड रेफेनस्पर्जरलाई चुनावमा धाँधली भएको बताउँदै आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । यो रेकर्डिङ वासिङ्टन पोस्टले सार्वजनिक गरेको हो । राष्ट्रपति ट्रम्पले रेफेनस्पर्जरसँग भनेका छन्, ‘म केवल ११ हजार ७ सय ८० भोट चाहन्छु । जुन हामीसँग भएकोभन्दा एक बढी हो । किनकी हामीले चुनाव जितेका छौं । ’
जर्जियामा राष्ट्रपतिमा निर्वाचित डेमोक्र्याट उम्मेदवार जो बाइडेन विजयी भएका थिए । जर्जियामा बाइडेनले २४ लाख ७३ हजार ६ सय ३३ मत प्राप्त गरेका थिए । जुन ट्रम्पले प्राप्त गरेकोभन्दा ११ हजार ७ सय ७९ मत धेरै हो । त्यसैले राज्यमा जितका लागि बाइडेनले प्राप्त गरेको भोटभन्दा बढी आफ्नो भोट बनाउन ट्रम्पले ११ हजार ७ सय ८० भोटको व्यवस्था गर्न चुनाव अधिकारीलाई दबाब दिएका हुन् ।
ट्रम्पले फोनमा भनेका छन्, ‘जर्जियाका नागरिक रिसाएका छन् । देशका नागरिक रिसाएका छन् । पुन: मतगणना गरिएको हो भनेर भन्नमा केही गल्ती हुने छैन ।’ जवाफमा रेफेन्स्पर्जर भन्छन्, ‘राष्ट्रपति महोदय, तपाईंको सामु यो चुनौती छ कि जुन डेटा तपाईंले देखाउनु भएको छ, त्यो गलत हो ।’