ह्यारी र मेघनले खोले दरबार त्याग्नुको रहस्य

राजपरिवारको वरिष्ठ सदस्यका रूपमा जिम्मेवारीबाट अलग्गिने घोषणा गरेर अमेरिका बस्दै आएको वर्ष दिनपछि बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेघन मार्कल फेरि चर्चामा आएका छन् ।

अमेरिकी टेलिभिजन सीबीएसले आइतबार प्रसारण गरेको ओप्रा विन्फ्रीसँग ह्यारी–मेघनको विशेष अन्तर्वार्ताले विश्व फेरि तरंगित भएको हो । अन्तर्वार्तामा उनीहरूले शाही परिवारसँगको सम्बन्ध तथा रंगभेदी प्रतिक्रियाका कारण आफ्नो मानसिक स्वास्थ्यमा परेको प्रभावजस्ता विषयमा मुख खोलेका छन् । बेलायती टेलिभिजन च्यानल आईटीभीले उक्त अन्तर्वार्ता सोमबार राति प्रसारण गरेको छ ।

अन्तर्वार्तामा डचेस अफ ससेक्स मेघनले लगाएको सबैभन्दा ठूलो आक्षेपमा आफूहरूको जन्मिने बच्चा कति अश्वेत होला भन्ने बातचित शाही परिवारभित्र धेरै पटक भएको भन्ने छ । तर, अन्तर्वार्ताका क्रममा भने दुवैले राजपरिवारका कुन सदस्यले त्यस्तो अभिव्यक्ति दिएका थिए भन्ने खुलाएनन् । ३९ वर्षीय मेघनकी आमा अश्वेत हुन् । उनले ब्रिटिस राजपरिवारभित्रको जीवन आफ्ना लागि धेरै कठिन भएको र कहिलेकाहीं बाँच्ने इच्छा नै मरेको बताएकी बीबीसीले उल्लेख गरेको छ । अन्तर्वार्ताका क्रममा उनले मानसिक समस्या भोग्दा सहयोगका लागि कहाँ सम्पर्क गर्ने भन्नेबारे अन्योलमा परेको समेत बताइन् ।

व्यक्तिगत कुरा धेरै गरिएको अन्तर्वार्तामा मेघनले सन् २०१८ मेमा ह्यारीसँग विवाह भएपछि अवस्था बिग्रन सुरु भएको र सहयोग माग्दा पनि आफूले नपाएको बताएकी छन् । मेघनले डुक अफ एडिनबरा राजकुमार फिलिप (महारानीका श्रीमान्) अस्पताल भर्ना हुँदा गत महिना महारानीलाई फोन गरेको पनि बताएकी छन् । मेघनले अन्तर्वार्ताका क्रममा आफ्नो गर्भमा रहेको बच्चा छोरी भएको पनि सार्वजनिक गरेकी छन् । उनीहरूको दोस्रो सन्तान छोरी यही गर्मीयाममा जन्मने जनाइएको छ । झन्डै दुई घण्टा लामो बहुप्रतीक्षित अन्तर्वार्तामा मेघनपछि ह्यारी जोडिएका थिए । राजकुमार ह्यारीले आफू जिम्मेवारीबाट अलग्गिन चाहेको बताएपछि बाबु राजकुमार चार्ल्सले आफ्नो फोनसमेत उठाउन छाडेका बताए । ह्यारीले आफ्नी हजुरआमा महारानी एलिजावेथ द्वितीयासँग भने सम्बन्ध साँच्चिकै राम्रो भएको र उनीहरूले नियमित कुराकानी गर्ने बताए ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *