हिमनदी विस्फोटमा मृत्यु हुनेको संख्या ७० पुग्यो

भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमनदी विस्फोटपछि आएको बाढीमा परी मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

हराइरहेका २ सय ४ जनामध्ये हालसम्म ७० जनाको शव प्राप्त भएको उत्तराखण्ड प्रहरीका महानिर्देशक अशोककुमार सिंहले जानकारी दिए । हराइरहेका मध्ये १ सय ९२ जना तपोवनस्थित ऋषिगंगा जलविद्युत् परियोजना र एनटीपीसी जलविद्युत् परियोजनाका कामदार तथा १२ जना स्थानीय थिए ।

उत्तराखण्डको जोशी मठनजिक दुई साताअघि हिमनदी फुट्दा धौलीगंगा, अलकनन्दालगायत नदीमा बाढी आएको थियो । धौलीगंगाको बाढीले चमोली जिल्लाको रैनी र तपोवन क्षेत्रमा ठूलो मात्रामा जिउधनको क्षति पुर्‍याएको हो । बाढीका कारण दुई गाउँ बगाउनुका साथै एउटा पक्की पुल र चार वटा जलविद्युत् आयोजनामा क्षति पुगेको थियो ।

पछिल्लो समय भेटिएका शवमध्ये नेपालीको थियो/थिएन भन्ने खुलाइएको छैन । यसअघि चमोली जिल्ला प्रहरीले हराइरहेका १ सय ७५ जनाको सूची सार्वजनिक गर्दा ११ जना नेपाली रहेको उल्लेख थियो । जसमध्ये एकजना बाहेक अन्य सबै ऋषिगंगा र तपोवन जलविद्युत् आयोजनामा कार्यरत मजदुर थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *