हत्या अभियोगमा फरार अभियुक्त १३ वर्षपछि पक्राउ

सुनसरी जिल्ला अदालतले हत्या अभियोगमा २० वर्ष कैद सजाय सुनाएपनि फरार रहेका साविक एकम्बा गाविस-४ (हाल इटहरी उपमहानगरपालिका) बस्ने ३२ वर्षीय एक अभियुक्तलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार एकम्बामा ०६४ साल बैशाख २९ गते भएको हत्या घटनाका फरार प्रतिवादी कृष्णकुमार धामी पक्राउ परेका हुन् । साथीको विवाहमा उनीसहित जन्ती गएका पाँचजनाले सुनसरीको साविक चांदवेला ७ मधेसा टोलस्थित प्रभुराम चौधरीको घर अगाडि साविक एकम्बा गाविस ४ का सुरेन कुमार ठाकुरको हत्या गरेका थिए । छुरा प्रहारपछि गम्भीर घाइते ठाकुरलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएर उपचार गर्दागर्दै मृत्यु भएको थियो ।

बेहुलीको घरमा स्वयंवर हुँदै गर्दा ठाकुरलाई छुरा प्रहार गरी हत्या गरेपछि उनीसहित पाँचै जना फरार भएका थिए । स्वयंवरको बेला बेहुलीको अगाडि उभिएको भन्ने निहुँमा विवाद हुँदा ठाकुरको हत्या भएको प्रहरीले जनाएको छ । ठाकुरको हत्या गर्दा धामीको उमेर १९ वर्षको थियो । ठाकुरको मृत्यु भएपछि उनको बुबाले जिल्ला प्रहरी कार्यालय सुनसरीमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेपछि धामीको खोजी भइरहेको थियो । रामधुनी नगरपालिका ६ घर भएपनि धामी मोरङको उर्लाबारीमा डेरा गरि बस्दै आएका थिए ।

फरार धामीलाई प्रहरीले उर्लाबारी नगरपालिका-५ बाट शुक्रबार पक्राउ गरी आइतबार अदालतको आदेश अनुसार कैद भुक्तानको लागि सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *