सेरम इन्स्टिच्युटलाई खोप उत्पादनमा रकम अभाव : सीईओ पूनावाला

भारतमा एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्युटले आफ्नो उत्पादन विदेशमा निर्यात गर्न नपाएपछि आर्थिक समस्या झेल्नु परेको जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) आदर पूनावालाले भारत सरका समक्ष आर्थिक सहायताका लागि आग्रह गरिएको बताएका छन् । खोप उत्पादनमा सेरम इन्स्टिच्युट विश्वकै सबैभन्दा ठूलो कम्पनी हो ।

भारतले भारतमै कोभिड-१९ का बिरामीको संख्या ह्वात्तै बढेपछि गत महिना एस्ट्राजेनिकाको खोप निर्यातमा रोक लगाएको थियो । प्रमुख कार्यकारी पूनावालाले भारतीय सञ्‍चारमाध्यम एनडीटीभीलाई दिएको अन्तर्वार्तामा सेरमका खोपको माग विश्वभर रहेको तर अहिले भारतमै आपूर्ति गर्नु परेको बताए ।

सीईओ पूनावालाले कम्पनीलाई आफ्नो क्षमता बढाउन ४० करोड ८० लाख अमेरिकी डलर थप आवश्यक परेको बताउँदै कम्पनीले भारत सरकारसँग वित्तीय सहायताका लागि आग्रह गरिएको जानकारी दिए ।

विगतमा आफूहरुले खोप निकासीबाट आर्थिक स्रोत जुटाउने लक्ष्य राखिएको भए पनि हाल भारतमै सीमित हुनुपर्दा खोप उत्पादनमा असर परेको उनले बताए ।

सेरम इन्स्टिच्य’टले कोभिसिल्ड खोप प्रतिदिन २० लाख डोजभन्दा बढी उत्पादन गरिरहेको छ, र यो खोप भारतमा अनुदानको रुपमा प्रति डोज करिब १५० भारतीय रुपैयाँमा उपलब्ध गराइरहेको छ । तर यही खोप निर्यात गर्दा सेरमले बढी मूल्य लिने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *