‘सेना फिर्ता भए तालिवान शक्तिशाली’

अफगानिस्तानबाट अमेरिकी तथा नेटो सैनिक फिर्ता गरिए तालिवानले पुनः सैन्य शक्ति आर्जन गर्न सक्ने अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकनले चेतावनी दिएका छन् ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र तालिवान विद्रोहीबीच भएको सम्झौताअनुसार अप्रिल महिनाभित्र अमेरिकाले अफगानिस्तानबाट सेना फिर्ता गर्न सहमत भएको थियो । तर अफगान राष्ट्रपति असरफ घानीलाई लेखेको पत्रमा ब्लिंकनले ‘भयानक आक्रमण’ हुन सक्ने चेतावनी दिएका छन् ।

सन् २००१ मा अमेरिकी सेनाले अफगानिस्तानमा आक्रमण गर्दै तालिवानलाई सत्ताच्युत गरिदिएको थियो । २००१ को सेप्टेम्बर ११ मा अमेरिकाका वासिङटन र न्युयोर्कमा गरिएका आतंककारी आक्रमणको बदलामा अमेरिकी सेनाले अफगानिस्तानमा हमला गरेको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत जनवरीमा ट्रम्प प्रशासन र तालिवानबीच भएको सम्झौताको पुनरावलोकन गर्ने बताएका थिए । उक्त सहमतिमा तालिवानले हिंसात्मक गतिविधि अन्त्य गर्ने र त्यसको बदलामा मे १ भित्र अमेरिकी नेतृत्वका १० हजार नेटो सैनिक फिर्ता गरिने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *